नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने क्रममा भएको ठगी प्रकरणमा संलग्न कोही पनि छुट्न नहुने बताएका छन्।
थापाले आफ्नो फेसबुकमा स्टाटस लेख्दै उच्च पदस्थ कर्मचारी तथा राजनीतिज्ञ कोही पनि छुट्न नहुने लेखेका छन्। उनले गिरोहलाई कानुनी तायारमा ल्याउन गृहप्रशासनले गररहेको कामको पनि प्रशंसा गरेका छन्।
‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ठगी गिरोहको भिआइपी जालो’उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ’ उनले फेसबुकमा भनेका छन्, ‘यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन।’
यस प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले एमाले सचिव टोप बहादुर रायमाझी, उनका छोरा सन्दिप रायमाझी,नेपाल सरकारका सचिव टोकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा’बादल’का छोरा, थापा बहाल रहँदाका उनका सुरक्षा सल्लाहकार इन्द्रजित राईका बाबुछोरालाई पक्राउ गरेको छ।