आउँदो जेठ १३ मा हुने भनिएको नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) को चलचित्र अवार्डको मिति सारिएको छ ।
अमेरिकामा आयोजना हुने भनिएको ‘नेफ्टा चलचित्र अवार्ड’ को एघारौँ संस्करण आगामी साउन ६ गते हुने सङ्घले जनाएको छ ।
“हाम्रो तयारीका लागि समय अपर्याप्त भएकाले मिति हेरफेर गरेका हौँ, अर्को मितिमा अवार्डलाई थप समावेशी, वृहत र सफल तुल्याउन सजिलो हुनेछ”, नेफ्टा अध्यक्ष पुस्कर लामाले भने।
लामाले यस्तो बताएपनि अमेरिका आयोजक र नेफ्टाबीव विभिन्न विषयमा मतभेद भएपछि अवार्ड सरेको बताइन्छ।
नयाँ तालिकाअनुसार यही वैशाख ३१मा अवार्डका लागि सर्वश्रेष्ठ पाँचजनालाई मनोनयन गरिएको घोषणा गरिनेछ ।
उत्कृष्ट पाँचमा रहने चलचित्रकर्मीले अवार्डमा सहभागिता जनाउनेछन् ।
‘हामी अवार्डलाई भव्यरूपमा सम्पन्न गर्दै नेपाली कला, संस्कृतिमार्फत चलचित्रको बजार विस्तारसमेत गर्न चाहन्छौँ’, उनले भने ।
अध्यक्ष लामाका अनुसार २०७९ सालभित्र प्रदर्शन भएका चलचित्रले बयालिस विधामा प्रतिस्पर्धा गर्नेछन् ।
नेफ्टाका विदेशी संस्करण युएई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भइसकेको छ । अमेरिकी संस्करणका लागि फेम नेपालसहित युएस खबर र आर्यन फिल्म्सले पनि सहकार्य गर्दैछन् ।