आज आफै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दाहालसमक्ष विशेष चासो राखेका छन्।
भेटमा उनले प्रकरणको जारी अनुसन्धानमाथि शंकासमेत व्यक्त गरेका छन्।
‘एउटा सांसद, पटक पटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको व्यक्ति, षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको … रहस्यपूर्ण छ। अहिलेको सिटिङ एमपी कहिँ भागेर जाने होइन’, प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले भने।
भेटमा ओलीले आफूले प्रम प्रचण्डलाई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको घटनामा निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने बताएका थिए ।
उनले भने,‘निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन, दोषी उम्काउन हाम्रो प्रयास हुदैन, निर्दोष फसाउन खोजियो भने हामी सहदैनौं’ उनले भने ।
त्यसैगरी ओलीले घटनामा एमाले नेताहरु तानिएको हो वा तनाएको हो भन्नेबारे अध्ययन भइरहेको पनि बताए ।
‘तानिएको हो कि तनाएको हो भनेर अध्ययन गर्दैछौं । अध्ययन गरेपछि हामी बोल्छौं’ ओलीले भने।
यस्तै ओलीले भेटिएको चेकमाथि पनि शंका व्यक्त गरे।
‘चार वर्ष अगाडि काटेका पनि चेक अहिले पनि काट्ने मान्छेसँगै छन्,’ उनले भने,‘यस्ता कुरालाई लिएर एकैचोटी अहिले सांसद, पटक-पटक मन्त्री भइसकेको पार्टीका नेता रायमाझीलाई षड्यन्त्रपूर्वक ढंगले बाटामा हिन्दाहिन्दै समाउनुपर्ने अवस्था रहस्यपूर्ण छ।’