ओलीले पुनर्वास कार्यक्रममा बाँकी रहेका भुटानी शरणार्थीको समस्या समाधान गर्न आफू प्रधानमन्त्री भएका बखत पहल गरेको बताउँदै आफूले त्यतिबेलै गृहमन्त्री र अनुसन्धान विभागलाई खोजीनिति गर्न भनेको बताएका छन्।
नेकपा एमालेका अध्यक्ष ओली आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न सिंहदरबार पुगेका थिए।
भेटपछि संचारकर्मीहरूलाई जवाफ दिदैं ओलीले यस्तो भनाइ राखेका हुन्।
त्यसैगरी ओलीले तेस्रो देश पुनर्बास कार्यक्रमबाट बाँकी रहेका भुटानी शरणार्थी समस्या समाधान गर्न आफू नेतृत्वको सरकारले पहल गरेको र सो क्रममा त्यसबारे अन्तर्राष्ट्रिय समुदायसँग छलफल गरेको पनि बताए ।
‘त्यसको स्टडी गर्ने कुरा भएको थियो, अलि पछाडि सुन्नमा आयो नक्कली शरणार्थी खडा गर्ने कोशिस हुँदैछ रे । मैले गृहमन्त्रीलाई बोलाएर भनेको थिएँ यस्तै सुन्दैछु भनेर । अनुसन्धान विभागलाई पनि राम्ररी खोजीनीति गर्नु भनेको थिएँ’ ओलीले भने ।
त्यतिबेला भुटानसँग कुरा गरेर उतै पठाउने, तेस्रो देश पुनर्बास गराउने वा नेपालमै बसोबासको व्यवस्था मिलाउने भन्ने विकल्पमा छलफल भएको उनले बताए ।