रविलाई ओलीको प्रधानमन्त्रीको अफर – साना पार्टी मिलाएर ल्याउनुस्, राप्रपा मेरो जिम्मा-Sutra News

रविलाई ओलीको प्रधानमन्त्रीको अफर – साना पार्टी मिलाएर ल्याउनुस्, राप्रपा मेरो जिम्मा

बिहिबार, २१ बैशाख २०८०

बिहिबार, २१ बैशाख २०८०
फाइल तस्बिर फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज एकाएक प्रधानमन्त्री दाहाललाई भेट्न आफै सिंहदरबार पुगे। प्रधानमन्त्रीलाई भेटेर बाहिरिदैं गर्दा नक्कली भुटानी शरणार्थीमा पार्टी सचिब टोपबहादुर रायमाझी जोडिएको बाहेक ओलीले अर्को एक प्रश्नको सामना गरे।



प्रश्न थियो- के तपाईंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको हो?

उनले प्रश्नको विषयलाई लिएर अनविज्ञता प्रकट गरे र भने-‘मैले अखबारहरूमा पढेँ । अरु मलाई थाहा छैन।’

ओली भन्दा अगाडि यो प्रश्नको जवाफ रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले पनि दिएका थिए। उनले पनि सो प्रस्तावका बारेमा कुनै कुरा नभएको बताएका थिए।

‘एमालेले सभापतिजीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको भनेर मिडियामा मेरै नाम कोट गरेर समाचार हालेको देखे। समाचार लेख्नेहरूसँग मैले अहिलेसम्म कुरा गरेको छैन’, अर्याललाई उद्धृत गर्दै नेपालप्रेसले आफ्नो वैशाख २० गतेको समाचारमा लेखेको छ।

यसबिच रविले नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा, माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरे। उनले जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पनि भेट गरे। अन्य सानादलसँग पनि रविले संवाद चलाइरहेका छन्। देउवा र प्रचण्डसँगको भेट वर्तामान गठबन्धन टिकाइराख्न हो भने साना दलसँगको भेट कुनै पनि बेला फेरिने परिस्थितिमा आफूलाई ‘फ्रन्ट’मा ल्याउन हो।

उनको सक्रियताको पछाडिका फ्याक्टर उनै केपी हुन् जसले ‘रविलाई प्रधानमन्त्री प्रस्ताव गर्नु भएको हो?’, भन्नेप्रति आज अनविज्ञता प्रकट गरेका थिए।

ओलीले यसबारेमा अनविज्ञता प्रकट गरे पनि रविलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको खबर सत्य भएको श्रोतले सूत्रन्यूजलाई जानकारी दिएको छ।

रवि मंगलबार ओली भेट्न उपसभापति डोलप्रसाद अर्यालसहित साँझ बालकोट पुगेका थिए। त्यहाँ रविले करिव आधा घण्टा ओलीसँग कुराकानी गरे।

कुराकानीका क्रममा ओलीले रविलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै साना दल मिलाएर ल्याएमा राप्रपालाई आफूले फकाउने आश्वासन दिएका छन्।

‘साना पार्टी मिलाएर ल्याउनुस्, राप्रपा मेरो जिम्मा’ ओलीको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो।

रविको पछिल्लो दौडधुप पनि यही आश्वासनको कारण हो।

ओलीले फ्लोरबाटै रविलाई समर्थन गर्ने आश्वासन दिएका छन्।

ओलीको यही आश्वासनबाट हौसिएका रविले सरकारमा फर्किन अनिच्छा देखाएका हुन्, जबकी उपचुनाव जितेर आएपछि पनि सरकारमै जाने मनस्थितिमा उनी थिए। भलै मतगणनाका दौरान उनले सरकारलाई समर्थन गरिरहन आवश्यक नरहेको बताएका थिए।

वैशाख १८ गतेसम्म सरकारमा जाने कि नजाने मनस्थितिमा रहेको रास्वपाले अब सरकारमा नबस्ने मनस्थिति बनाउनुको कारण पनि यही हो। रविले सत्तारोहण नगर्ने निश्चित भएपछि यसबारेमा गठबन्धन दलभित्र बजेटसँगै यो विषयले पनि प्रमूखता पाएको थियो।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आज रास्वपालाई सरकारमा ल्याउनेबारेमा उपचुनाव अगाडि नै कुरा भइसकेको बताउनुले पनि सत्तासमीकरण नयाँ कोर्षतर्फ जान लागेको हो की भन्ने संकेत गरेको छ।

परिस्थिति बदलिन सक्ने देखेको भएर नै प्रम प्रचण्डले रोजेकै गृह मन्त्रालय लिनुस् , भ्रष्टाचारको जुन फाइल खोल्न मनलाग्छ खोल्नुस् भनेर रविलाई सार्वजनिक रूपमै पनि आव्हान गरेका हुन्।

केपी ओली वर्तमान गठबन्धन कुनै पनि मूल्यमा भत्काउन चाहन्छ। बल्लतल्ल काँग्रेसबाट भत्काएर बनाएको गठबन्धनबाट बाहिरिनु परेपछिको ‘इगो’ ओलीसँग बाँकी नै छ।

यो चाहनामा संसदको अंकगणित प्रमूख भूमिका खेल्छ।

नेपाली काँग्रेस,माओवादी, एकिकृत समाजवादी तथा जनमोर्चा बेगरको गठबन्धन एकठाउँमा उभिए नयाँ समिकरण सम्भव छ। रविले देखेको सम्भावना यही हो। उनले

ओलीले भनेजस्तो सानादलको छुट्टै मोर्चा बनाए बने प्रचण्ड सरकार ढल्न सम्भव छ, यध्यपी यो त्यति सजिलो पनि छैन।

सरकारमा जाने वा नजाने निर्णय भोलि रास्वपाले गर्दैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट