रास्वपाले भन्यो : सम्मानजनक हिसाब गरिएन, सरकारमा आउ भनियो उता मन्त्रपरिषद् विस्तार गरियो-Sutra News

रास्वपाले भन्यो : सम्मानजनक हिसाब गरिएन, सरकारमा आउ भनियो उता मन्त्रपरिषद् विस्तार गरियो

शनिबार, २३ बैशाख २०८०

शनिबार, २३ बैशाख २०८०

काठमाडौँ- सत्ता गठबन्धनले सम्मानजनक हिसाब नगरेको, मन्त्रालय विस्तार गरेको लगायतका कारण देखाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ।



शुक्रबार बसेको केन्द्रीय समिती र संसदीय दलको संयुक्त बैठकले सो निष्कर्ष निकालेको हो।

‘सम्मानजनक हिसाब गरिएन, सरकारमा आउन प्रधानमन्त्रीले आह्वान गर्नुभयो तर, व्यवहारिक रुपमा मन्त्रीपरिषद् बिस्तार गरिहाल्नुभयो,’ रास्वपाका एक नेताले भने, ‘नीति तथा कार्यक्रम पनि बनिसकेको जानकारी पाएपछि हामीले प्रतिपक्ष बस्ने निर्णय गर्‍यौं।’

गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको मन्त्रिपरिषद् विस्तारको कारण पनि सरकारमा जाने बाटो बन्द भएको बैठकमा छलफल भएको थियो।

तर, बैठकमा सांसद शिशिर खनालले सरकारमा सहभागी हुनुपर्ने बताएका थिए। ‘अहिले जनतालाई डेलिभरी दिने हो भने सरकारमा जानुपर्छ,’ खनालले बैठकमा भनेका थिए।

बैठकले सरकारले अमेरिका पठाउने भन्दै नक्कली शरणार्थी बनाएर पैसा खाने उपल्लो तहका नेताहरूलाई पक्राउ गर्ने सरकारको निर्णयको स्वागत गर्दै दोषी कसैलाई नछोड्न सुझाव पनि दिएको छ।

बैठकमा सभापति रवि लामिछानेले शीर्ष नेताहरूसंग भएको भेटवार्ताबारे ब्रिफिङ गरेका थिए। ‘हामीले उपनिर्वाचनबाट जनताको थप विश्वास पाएका छौ।रचनात्मक प्रतिपक्षको भुमिकामा रहन जनदबाब छ।’लामिछानेले बैठकमा भनेका थिए, ‘अहिलेलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने हो।भोलि फेरी अर्कै परिस्थिती आएछ भने अर्कै कुरा हो।’

लामिछानेपछी बोल्ने सबैजसो सांसद र केन्द्रीय सदस्यहरुले अहिलेको अवस्थामा प्रतिपक्षमै बस्न जरुरी रहेको बताएका थिए।

केन्द्रीय सदस्य मोहन थापाले मात्रै सरकारमा गएर जनचाहना अनुसार काम गर्न सरकारमा जानुपर्ने धारणा राखेका थिए।केही सांसदहरुले सरकारमा जादै नजाने भनेर निर्णय गर्न नहुने तर्क गरेका थिए।अहिले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि हामी २०८४ अघि सरकारमा नजाने भनेर निर्णय गर्न नहुने उनीहरुको भनाई छ।

बैठकपछी पत्रकार सम्मेलनमा बोल्दा समेत रास्वपा सभापति रवि लामिछानेले आफ‍ूहरू सरकारमा जानेनजाने कुरा परिस्थितीले निर्धारण गर्ने बताएका थिए।उनले सरकारको नेतृत्व गर्न पाएमा त्यसको लागि तयार रहेको समेत बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट