काठमाडौँ– संवैधानिक परिषद्को बैठक बोलाइएको छ। सोमबार (भोलि) साँझ ६ बजेका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्नेगरी परिषद्को बैठक बोलाइएको हो।
शनिबार दिउँसो प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो। उनीहरूबीचको भेटघाटपछि सोमबार साँझ बस्नेगरी परिषद्को बैठक बोलाइएको हो।
‘सोमबार साँझ ६ बजे संवैधानिक परिषद्को बैठक बोलाइएको छ,’ स्रोतले भन्यो, ‘प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल हुनेछ।’
प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि यसअघि बसेको बैठक निश्कर्षविहीन सकिएको थियो।
शनिबार सिंहदरबारमा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डसहित सत्ता गठबन्धनका शीर्ष सर्वोच्च बारका प्रतिनिधिहरूसँग छलफल गरेका थिए। नागरिकता विधेयक, प्रधानन्यायधीश नियुक्ति लगायतका विषयमा अधिवक्ताहरूसँग छलफल गरिएको थियो।