बिहीबारबाट रिलिज भएको धीरज मगर तथा जसिता गुरुंग स्टारर ‘ज्याकी-आई एम ट्वान्टी वान’ले नेपाली वक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न असफल भएको छ।
सिनेमाले शनिबार र उभौली एवं बुद्ध पूर्णिमाको बिदाको समेत फाइदा उठाउन सकेन। सिनेमाले आफ्नो ओपिनङ् विकेण्डमा करिब २९ लाखको व्यापार गरेको नेपाली वक्सअफिसमा देखिएको छ। यो कमाई सरकारी कर कट्टा गरेपछिको रकम हो।
नेपालको पहिलो डान्स जनराको सिनेमा भनिएको यस सिनेमाले विशेषगरी युवा दर्शक तान्ने अपेक्षा गरिएको थियो, जसमा यो सिनेमा असफल भएको छ।
सिनेमाको व्यापारिक रुझान हेर्दा यो सिनेमा पनि ‘प्रसाद-२’, ‘नाईं नभन्नू ल-६’कै फ्लपको सिलसिलालाई पछ्याउँने पक्का जस्तै भएको छ।
सिनेमालाई रिनाशा राई राणाले निर्देशन गरेकी हुन्। समीक्षागतरुपमा सिनेमाले मिश्रित प्रतिक्रिया पाएको छ।