नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नक्कली शरणार्थी प्रकरणमा कसले छानबिन नगर्न दबाब दियो भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’को आफू लक्षित भनाइको प्रतिवाद गरेका छन्।
ओलीसँगको भेटपछि शनिबार प्रचण्डले जसको दबाब आएपछि छानबिन गरेर दोषीलाई कारवाही गर्ने बताएका थिए ।
‘म कसैलाई छाड्नेवाला छैन भनिरहेका छन् प्रधानमन्त्रीले । अहिलेको नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा सुरुवात गरेकै उनैले हो कि ? कुरा उठाएर छानविन थालेकै उनले हो कि ? भर्खर मैले कुरा गरेपछि बुझ्दैछु भन्दैछन् । तर, हिजो आएर प्रचण्डले फाइफुइँ गरेर मानिल्याऔं उनैको आविष्कार जस्तो गर्दैछन्। हामी सरकारको ध्यानाकर्षण गराइरहेका छौं’, आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने।
गत वर्षदेखि नै आफ्नो पार्टीको सांसदहरुले संसद बैठकमा कुरा उठाउँदा सरकारले नसुनेको उनको भनाइ छ।
‘हामीले उहिलेदेखि संसदमा कुरा उठाएको नसुन्ने अहिले कसैलाई छाड्दिनँ रे । पुष्पकमल दाहालका खुशीको कुरा हो कसैलाई छाड्ने र नछाड्ने ? दोषि छ भने कानूनले छाड्दैन । को हो पुष्पकमल दाहाल छाड्दिनँ भन्ने ? के भन्या त्यो ? म झुक्दिनँ दबाबमा पर्दिनँ । कसले दबाब दियो’, उनले भने, ‘मलाई बोलाएर भेट्ने विभिन्न विषयमा कुरा गर्ने, म निस्किएपछि कसैको प्रभावमा प्रर्दिनँ । म झुक्दिनँ पछि हट्दिनँ । कसले दबाब दियो तपाईलाई पछि हट्नु भनेर म प्रश्न गर्न चाहन्छु । मैले कसैको छानविन नगर्नुस् भनेको छैन । कडा साथ कारवाही गर्नुस् ।’