नक्कली शरणार्थी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षको आरोप-प्रत्यारोप, कसले के भने?-Sutra News

नक्कली शरणार्थी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षको आरोप-प्रत्यारोप, कसले के भने?

आइतबार, २४ बैशाख २०८०

आइतबार, २४ बैशाख २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणका बिषयमा प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप भएको छ ।



आइतबार बसेको बैठकमा सांसदहरुबीच नक्कली भुटानी शरणार्थी प्रकरणका बिषयमा आरोप प्रत्यारोप भएको हो । बैठकमा एमाले सांसद पदम गिरीले जुनसुकै समयमा भएका अनियमितताका घटनालाई छानबिनको दायरमा ल्याउनुपर्ने बताए ।

अहिले सिङ्गो मुलुकको ध्यान नक्कली शरणार्थी बनाएर लैजाने घटनामा केन्द्रित भएको भन्दै यसमा संलग्नलाई छानबिनको दायरामा ल्याउन उनले माग गरे। घटनामा संलग्न भएका केही व्यक्तिलाई छाड्न बयान फेर्ने काम भइरहेको भन्दै यसलाई राजनीतिक रंग दिन नहुने उनको भनाइ छ ।

बैठकमा माओवादी सांसद माधव सापकोटाले प्रमुख प्रतिपक्षीले संसद् कब्जा गर्ने उद्देश्यले विषयान्तर गरिरहेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई प्रहरी समक्ष बुझाउन सुझाव दिए।

त्यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति कारबाहीको भागिदार हुन तयार हुनुपर्ने बताए। प्रकरणमा आफ्नो पनि नाम आएपछि खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दै भ्रष्टाचारीलाई जोगाउने काम बन्द हुनुपर्ने भन्दै यस बिषयमा आफ्नो सहभागीता पुष्टि भए जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताए।

बैठकमा एमाले सांसद रघुजी पन्तले आरोप प्रत्यारोप भएपनि आफुहरु सत्यतथ्यमा विश्वास गर्ने बताए। उनले नागरिकता बिधेयकलाई पुन राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने तयारी भएको भन्दै आपत्ती जनाए ।

बैठकमा सांसद अमरेशकुमार सिंहले नक्कली भुटानी शरणार्थी घटनामा संलग्न नेता र कर्मचारीलाई कारबाही गर्न माग गरे । सांसद ज्ञानबहादुर शाहीले नक्कली भुटानी शरणार्थी बनाउने घटनामा संलग्नलाई कारबाही गर्न भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट