आरजुले भनिन्- जसले जति ‘क्रिटिसाइज’ गरे पनि… मैले केही बिराको छैन, डराउँदिन ।-Sutra News

आरजुले भनिन्- जसले जति ‘क्रिटिसाइज’ गरे पनि… मैले केही बिराको छैन, डराउँदिन ।

आइतबार, २४ बैशाख २०८०

आइतबार, २४ बैशाख २०८०

नेपाली कांग्रेसकी सांसद तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई मुछिएकोमा आपत्ति प्रकट गरेकी छन्।



आइतबारको बैठकमा बोल्दै उनले नारीले राजनीति गरेको पुरूषलाई असह्य भएकाले आफ्नो नाम उछालिएको दाबी गरिन्।

आफ्नो श्रीमान ५-६ चोटि प्रधानमन्त्री बनेको र आफूहरुको सम्पत्तिको सबै विवरण सरकारसँग रहेको बताउँदै राणाले अहिलेसम्म बनेका सबै सांसदहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने मागसमेर गरिन्।

‘हामी सम्पत्ति विवरण बुझाउँछौं । मेरो श्रीमान ५-६ चोटि प्रधानमन्त्री हुनुभएको छ । मेरो लगायत, हाम्रो सम्पत्ति विवरण नेपाल सरकारसँग सुरक्षित छ । म अनुरोध गर्न चाहन्छु, आजसम्म जति सांसद छौं, सबैको सम्पत्ति विवरण प्रकाशित गरेर वेवसाइटमा राखियोस’, उनले भनिन् ‘जनताले देखोस, कसको बढ्यो, कति बढ्यो, स्रोत के हो ? इन्डियामा हरेक महिना जुडिसियलका कर्मचारीले आफ्नो सबै हिसाब डिक्लीयर गर्नुपर्छ । हरेक महिनाको बिल बुझाउनुपर्छ । हामी त्यो कानून ल्याउन सक्छौं ? अरुलाई होच्याउन पाए जे पनि बोलेर हुन्छ ?’

‘भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति सिरियस छौं भन्ने ठूलो प्रश्न उठेको छ । म नभएको दिन यहाँ मेरो नाम ईंगित गरेर अनेक प्रश्न उठाइयो । आज पनि उठेको पाएको छु । एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको सैह्य हुँदैन रहेछ’, उनले भनिन् ‘पुरुषले भनेको ठाउँमा मात्रै नारी बस्नुपर्ने, पुरुषकै भाष्य बोल्नुपर्ने । नारी आफ्नो पब्लिक लाइफमा आयो भने पुरुषलाई असैह्य हुने । यो परिस्थिति बनेको छ । यो नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय नै छ । त्यसको विरोधमा हो संविधान लेखेको । यसका लागि जसले जति क्रिटिसाइज गरे पनि… मैले केही बिराको छैन, डराउँदिन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट