किन दु:ख पोखिरहेका छन् गगन, कतै कांग्रेस त फुटाउँदैनन्?-Sutra News

किन दु:ख पोखिरहेका छन् गगन, कतै कांग्रेस त फुटाउँदैनन्?

सोमबार, २५ बैशाख २०८०

सोमबार, २५ बैशाख २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निराशापूर्ण अभिव्यक्ति सार्वजनिक गरेका छन्। महामन्त्री थापाले आइतबार सामाजिक सञ्जाजमार्फत विगतमा आफूलाई प्रक्रिया चित्त नबुझ्दा, पद्धति र निर्णय मन नपर्दा प्रतिरोध गर्न मन लागे पनि जिम्मेवारी लिएर बसेका कारण केही गर्न नसकेको स्पष्टीकरण दिएका छन्।



उनले भनेका छन्, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ।’

उनले सोही कारण कहिले मौन रहेको, कहिले भित्रै मत र अडान राखे पनि सफल हुने नसकेको स्पष्ट पारेका छन्। थापाले भनेका छन्, ‘त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो!’

पार्टीबाट सरकारमा मन्त्री बनाउँदा पनि खासै भाग नपाएका थापा त्यसमा पनि असन्तुष्ट छन्। थापाको आक्रोशपूर्ण भनाइप्रति पत्रकार नारायण अमृतले पनि टिप्पणी गरेका छन्। उनले भनेका छन्, गगनले अर्को शेरबहादुर हुने लोभ नराख्ने हो भने अति भो भनेर सुख्ख पाइन्न। गर्ने हो भने – हस्तक्षेप र शुद्धिकरण जिन्दावाद। नत्र धम्की नै धमनीले धान्दैन। सक्छौ भने आरजुको छायाँबाट दललाई मुक्त गर। नत्र गफ नगर।’

हो, कांग्रेस भन्ने पार्टीभित्र गगन थापाहरूले देउवा र उनका पछि लाग्नेको प्रवृत्तिविरुद्ध बोल्ने हिम्मत गरेकै हो । पार्टीमा पुस्तान्तरण र सुधारका पक्षमा सक्दो प्रयास गरेकै हो । पुराना दलमा युवा नेताहरूले लाचार बनेर अध्यक्षको गोजीबाट नियुक्ति बुझ्दै गर्दा महाधिवेशनमा देउवाका उम्मेदवारलाई चुनौती दिएर जितेको पनि हो ।

संसदीय दलको चुनावमा समेत सम्झौता र लेनदेन नगरी देउवाविरुद्ध उभिएकै हो । स्वर्णिम वाग्ळे जस्ता सक्षम र विज्ञ युवाहरूले टिकट पाउनुपर्छ भनेर पार्टीभित्र व्यापक दबाब र जनलहर सिर्जना गरेको हो । अझै पनि संसदभित्र तैयारी गरेर र तथ्यसहित प्रस्तुत हुने सांसदमध्ये गगन थापा एक हो ।

रवि लामिछानेको पार्टीले समेत काठमाडौँ ४ मा मंसिरको चुनावमा गगनविरुद्ध उम्मेद्वारी फिर्ता लिएर सद्भाव देखाएको हो । उपनिर्वाचनमा त पार्टीले उनकै मित्रविरुद्ध चुनाबी कमाण्डर बनाएर उनको जीवनभरिको कमाइ सिध्याउने काम गरेको हो ।

जसले मन्त्री हुने लोभ त्यागेर र आफ्नै भविष्य दाउमा लगाएर एक्लैसमेत देउवा र आरजुको मनोमानीविरुद्ध लड्यो, चुनावमै उभियो, उसैलाई भाउजुको देवरका रूपमा प्रस्तुत गरेर कमजोर बनाउने र देउवालाई बलियो बनाई रहने षड्यन्त्र थियो त्यो ।

हो, अब गर्दा गर्दै, लड्दा लड्दै केही नलागेपछि या त आत्मसमर्पण गर्नु या विद्रोह गरेरे बाहिरिनुबाहेक अर्को भरपर्दो विकल्प पनि हुँदैन ।

तर आज अभूतपूर्व रूपमा एउटा संगीन राष्ट्रघातको पर्दाफास हुँदै गर्दा, यसअघि कहिल्यै नदेखिएको स्तरमा भ्रष्ट नेताहरूबीच हाहाकार सिर्जना हुँदै गर्दा, ओली र देउवा स्वयं बचाउका लागि खोपीबाट बाहिर निस्केर गुहार माग्ने अवस्था सिर्जना हुँदै गर्दा सरकारलाई कमजोर बनाउने, ढाल्ने या विषयान्तर गर्ने काममा लागेर अर्को भूल उनले गर्न हुँदैन।

जसरी, जहाँबाट जति सकिन्छ त्यति सहयोग र बल दिएर यो राष्ट्रिय बेइज्जती र घातमा संलग्नहरूलाई कठघरामा उभ्याउनु हाम्रो र उनको कर्तव्य हो । उनीलगायतका कांग्रेस र एमाले युवाहरूले खुट्टा नकमाउने हो भने पार्टी र देश शुद्धीकरण गर्ने यो एउटा सुनौलो मौका पनि हो ।

प्रचण्ड दूधले नुहाएका नेता होइनन् । अरू सबै मैला र उनी सफा होइनन् । उनका पनि कैयौं फाइल छन् र होलान् । सधैँ प्रचण्डको सरकार रहिरहन्न । सधैँ उनी सत्ता र शक्तिमा रहन्नन् । त्यसबेला उनको फाइल पनि यसै गरी खोल्न सकिन्छ र बाँकी फोहोर सफा गर्न सकिन्छ ।

तर, ठीक यतिबेला उनलाई कमजोर बनाउने गरी माओवादीविरुद्धका मुद्दाहरू उचाल्नु, उनको कुर्सी हल्लाउन खोज्नु र उनलाई अनुचित सम्झौता गर्न बाध्य पार्नु कत्ति पनि देशहितमा हुने छैन । यो त जानाजान माओवादी भ्रष्टाचार देखएर आफ्ना भ्रष्टहरूलाई जोगाउनुजस्तै हुनेछ । कसैको पनि नखोलम् भन्नुजस्तै हुनेछ । किनकि यिनै पार्टी नमिली यतिबेला कुनै सरकार बन्दैन ।

हिजोभर्खर प्रचण्डलाई एमाले, राप्रपा र रास्वपाले समेत हस्ताक्षर गरेर प्रम बनाएको हो । उनी छ महिनाअघि ठीक र आज काम गर्न खोज्दा बेठीक कसरी हुन्छन् ? हो हिजो कांग्रेस-एमालेले प्रचण्डलाई बोक्नु पक्कै अनुचित थियो, माथिदेखि तलसम्मकै तालमेल र चुनाव चिन्ह नै भाड़ामा लगाउने परम्परा गलत थियो । तर, यतिबेला देशमा जसले गरे पनि र जति गरे पनि काम चाहिएको छ ।

गगनको पछिल्लो अभिव्यक्ति प्रचण्डलाई गलाउन नभएर कांग्रेसभित्रको विकृतिको राजकिल्ला ढलाउन लक्षित होस् !

गगनको पछिल्लो अभिव्यक्तिलाई त्यत्ति हल्का रुपमा भने लिनुहुँदैन। उनको यो अभिव्यक्तिलाई विश्लेषकहरू पार्टी नै फुटाउने पार्टी नै छोड्नेसम्मको पीडाको रुपमा पनि अर्थ्याउँछन्। गगनलाई पछिल्लो समय देउवा कित्ताका समूहले त यसै खेदिरहन्छ नै इतर समूह भनिने शेखरले पनि साथ दिएको देखिँदैन। मन्त्रिपरिषद् विस्तार गर्दा थापा समूहका कोही परेनन्। शेखरका दुई जनामात्रै छन् अरू देउवाका गोजीका छन्। मन्त्रिपरिषद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलले भने भाग पाएका छन्।

अहिले कांग्रेसमा सबैभन्दा ठूलो जोखिम उठाएका थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने साथ दिइरहेको पाइन्छ। यी दुई महामन्त्रीलाई अहिले पार्टीमा खेद्ने तर चुनावको बेलामा भोट माग्न देश दौडाहामा यीनीहरू नै सबैकहाँ पुग्नु पर्ने अवस्था छ। ठ्याक्कै भन्दा यी दुई अनुहार र नाम बिकाएर कांग्रेसका देउवादेखि आरजुर राणासम्मले भोट माग्ने अवस्था छ। यो कति समय टिक्ने? गगनको अबको योजना र पार्टीभित्रको हस्तक्षेपको रणनीति कस्तो हुन्छ त्यो हेर्न बाँकी नै छ। कित उनले पनि दाइ भाइजुको पीडाकै कारण पार्टी छोडेर विद्रोहको नाम दिन्छन् हेर्नका लागि पर्खिनुबाहेक अरू उपाए छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट