आज संवैधानिक परिषद्को बैठक, केपी ओली लचिलो भए हुन सक्छ प्रधानन्यायाधीशको नियुक्ति-Sutra News

आज संवैधानिक परिषद्को बैठक, केपी ओली लचिलो भए हुन सक्छ प्रधानन्यायाधीशको नियुक्ति

सोमबार, २५ बैशाख २०८०

सोमबार, २५ बैशाख २०८०

काठमाडौँ- सर्वाेच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको सल्लाहअनुसार संवैधानिक परिषद्को बैठक आज साँझ बस्ने भएको हो।



संसद्‌मा महाभियोग प्रस्ताव दर्ता भएपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा परेका छन्। त्यसयता सर्वाेच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कायममुकायम प्रधानन्यायाधीश छन्।

१४ महिनादेखि सर्वाेच्च अदालत नेतृत्वविहीन रहेको भन्दै प्रधानन्यायाधीश नियुक्तिका लागि नेपाल बार एसोसिएसनलगायत सरोकारवालाहरूले दबाब दिइरहेका छन्।

यसअघि यही वैशाख ६ गते बसेको संवैधानिक परिषद्को बैठकले यस सम्बन्धमा अर्काे बैठकबाट निर्णय गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‌मा प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन्।

पार्टीका सचिव टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि ओलीले प्रचण्डलाई लगातार भेटिएरहेका छन्। टोपबहादुरविरुद्ध पक्राउ पुर्जी जारी भए पनि ओली र प्रचण्डबीच केही समझदारी बनेकै कारण पक्राउ परेका छैनन्। टोपबहादुर रायमाझीलाई पक्राउ गर्दै संवैधानिक परिषद्‌मा बहुमत रहेका ओलीले सहयोग नगर्ने त्रास प्रचण्डलाई छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट