टोपबहादुरलाई खोज्न विशेष प्रहरी परिचालन-Sutra News

टोपबहादुरलाई खोज्न विशेष प्रहरी परिचालन

सोमबार, २५ बैशाख २०८०

सोमबार, २५ बैशाख २०८०
फाइल तस्बिर

काठमाडौँ- शरणार्थी प्रकरणमा तानिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई खोज्न विशेष प्रहरी परिचालन गरिएको छ। उनलाई खोज्न बुटवल र काठमाडौँमा विशेष प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



पूर्वमन्त्रीसमेत रहेका रायमाझीको खोजी तीव्र पारेको भए पनि अहिलेसम्म पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । नक्कली शरणार्थी प्रकरणमा रायमाझी पनि दोषी देखिएपछी उनलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। उनको मोबाइलअनुसार बुटवलमा अन्तिम लोकेसन देखिए पनि त्यसपछि कहाँ गए पत्तो नभएको भनिएको छ। धेरैले उनलाई सरकारले नै लुकाएको आरोप पनि लगाएका छन्।

नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय गिरोहसँगको मिलेमतोको आरोप उनीमाथि लागेको छ ।

सो गिरोहमा सक्रिय रहेका उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले गत बुधबार बेलुका नै बुटवलबाट पक्राउ गरेको छ । कतिपयले भने उनी काठमाडौंमै रहेको र प्रहरीको सम्पर्कमै रहेको दाबी गरेका छन् ।

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परिसकेका छन् ।

पक्राउ परेका सानु भण्डारीले दिएको बयानका आधारमा नेकपा एमालेकै उपाध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण,उनकी पत्नी मञ्जु खाँण र आरजु राणा देउवा पनि तानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट