नक्कली शरणार्थी प्रकरणमा बालकृष्ण खाणविरुद्ध प्रमाण जुटाउँदै प्रहरी-Sutra News

नक्कली शरणार्थी प्रकरणमा बालकृष्ण खाणविरुद्ध प्रमाण जुटाउँदै प्रहरी

मंगलबार, २६ बैशाख २०८०

मंगलबार, २६ बैशाख २०८०

काठमाडौँ- नेपाल प्रहरीले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणमाथि अनुसन्धान सुरु गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा सार्वजनिक अडिओ र छानबिन गर्न बनेको कार्यदलको म्याद थप हुँदा खाण गृहमन्त्री भएकोले प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो।



पक्राउ परेकाहरूको बयानका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाणसमेत जोडिएपछि प्रहरीले थप प्रमाण खोजिरहेको छ। कार्यदलको म्याद थप गर्दा गृहमन्त्री खाण थिए। उनकै रोजाइमा सचिव टेकनारायण पाण्डेलाई गृह मन्त्रालयमा ल्याइएको थियो।

पाण्डेको संलग्नता पुष्टि भइसकेको छ। उनी र बिचौलियाबीच बाक्लो कुराकानी भएको खुलेको छ। यस्तै आर्थिक लेनदेन पनि पुष्टि भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

मन्त्री खाणसहित उनकी पत्नी मञ्जु खाण र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको नामसमेत सार्वजनिक भएको अडिओमा उल्लेख गरेको पाइएको छ। बिचौलिया र पीडितबीच भएको कुराकानीमा उनीहरुलाई ८ करोड रुपैयाँ बुझाएको समेत भनिएको छ। तर अहिलेसम्म आर्थिक लेनदेनको प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ।

अडिओको कुराकानी सुने पनि त्यसलाई पुष्टी गर्ने प्रमाणहरू भेटिएका छैनन्। खाण संलग्न भएको भन्दै समाचार सार्वजनिक भएपछि उनले इन्कार गर्दै विज्ञप्ति निकालेका थिए। तर प्रहरी उनीविरुद्ध प्रमाण खोतल्दै छ।

यो प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परिसकेका छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ११ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ। तर उनीहरु भने फरार छन्। यसबारे कांग्रेस एमालेले दलकै तर्फबाट कुनै धारणा सार्वजनिक गरेका छैनन्। यसले पनि के देखिन्छ भने दोषीलाई बचाउन ठूला दलका ठूला नेता नै सक्रिय छन्।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा मुछिएको कार्यदलका सदस्यहरुको बयान सुरु भएको छ। काठमाडौं प्रहरी परिसरले कार्यदलका संयोजक बालकृष्ण पन्थीको बयान आइतबार लिइएको थियो।

सदस्य गणेश केसी र दीपकप्रसाद न्यौपानेलाई पनि बयानका लागि बोलाइएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार ह्ँदा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा शरणार्थीको समस्याबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो। कार्यदलमा विज्ञका रुपमा केसी र मन्त्रालयकै उपसचिव न्यौपाने सदस्य थिए।

कार्यदलको प्रतिवेदनका आधारमा यसअघि छुटेका भुटानी शरणार्थीलाई अमेरिका पठाउने सरकारको तयारी थियो। तर यही कार्यदलको प्रतिवेदनमा नेपालीलाई नै शरणार्थी बनाएर अमेरिका पठाउन लागिएको आशंका गरिएको छ।

कार्यदलले फर्जी शरणार्थी गणना गरेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ। कार्यदलका सदस्यसँगै गृह प्रशासनका कर्मचारी पनि अनुसन्धानमा तानिएका छन्।

कार्यदल बन्दा गृहमन्त्री रामबहादुर थापा बादल थिए भने गृहसचिव हालका अख्तियार प्रमुख प्रेमकुमार राई। प्रेमकुमार पनि ठगीमा संलग्न रहेको पक्राउ परेका बिचौलियाले बयान दिएका छन्। तर हालसम्म तत्कालीन गृहमन्त्री बादलको भने नाम जोडिएको छैन।

बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र छोरा प्रतीकको नाम बिचौलियाले बयानमा लिएका छन्। संलग्नता खुलेपछि इन्द्रजित पक्राउ परिसकेका छन्। प्रतीक फरार छन्। आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रतीकले अस्वीकार गर्दैै विज्ञप्ति जारी गरेका थिए।

लेनदेनमा मुछिएका सुरक्षा सल्लाहकार राईका छोरा निरज पनि फरार छन्। उनलाई पनि प्रहरीले खोजिरहेको छ। कार्यदलको बयानपछि तत्कालीन गृह प्रशासनका क–कसको के संलग्नता छ भन्ने खुल्ने छ। कार्यदलका विज्ञ सल्लाहकारमा केसीलाई इन्द्रजितकै सिफारिसमा नियुक्त गरिएको थियो। त्यसकारण पनि कार्यदलले गडबड गरेको आशंका प्रहरीको छ।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापा हुँदा २०७६ जेठमा कार्यदल गठन गरिएको थियो। सोही कार्यदललाई प्रभावित बनाएर गृह प्रशासनका कर्मचारी र बिचौलियाले नेपालीलाई शरणार्थीको सूचीमा राखेका थिए।

तर सरकार परिवर्तन भएपछि शरणार्थी बनेर अमेरिका जान लाखौं बुझाएका नेपालीले उजुरी गरेका थिए। कार्यदलको पनि कार्यावधि सकिन लागेको थियो।

तर यही कार्यदलको सूचीमा समेटेर अमेरिका पठाउने भन्दै बिचौलियाले लाखौँ रकम असुलेको पाइएको छ। यसरी उठाएको रकम गृहमन्त्रीदेखि गृह प्रशासनका नेतृत्वसम्म पुर्याएको बिचौलियाको बयान छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट