‘दि केरला स्टोरी’लाई भारतको पश्चिम बंगाल सरकारले प्रतिबन्ध लगाएको छ।
दक्षिण भारतीय राज्य केरलाका ३२ हजार हिन्दू युवतीलाई कसरी जबर्जस्ती मुसलमान धर्मान्तरण गरेर आईएसआईएसजस्ता आतंकवादी संगठनमा भर्ती गर्नेबारेको कथा बोकेको सिनेमालाई बंगालले प्रतिबन्ध लगाए पनि अन्य दुई बारतीय राज्यले भने कर छुट दिएका छन्।
सिनेमालाई मध्य प्रदेश र उत्तर प्रदेशले कर छुट दिएका हुन्।
हिन्दू र मुसलमानबीच साम्प्रदायिक सद्भाव भड्काउन सक्ने भन्दै पश्चिम बंगालले सिनेमामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
चार दिनको अवधिमा ४५.७२ करोड भारु कमाइ गरिसकेको सिनेमाले मंगलबार नै ५० करोडको आँकडा पार गर्दै आफूलाई बल्कबस्टर बनाउने अनुमान भारतीय सिनेमा व्यापार विश्लेषकहरुले गरेका छन्।
सिनेमालाई कर छुट दिएका उत्तरप्रदेश र मध्यप्रदेश दुबै सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) शासित राज्यहरु हुन्।
मध्यप्रदेशका मूख्य मून्त्री शिवराजसिंह चौहानले सिनेमा हेरेपछि जबर्जस्ती रुपमा धर्मान्तरणविरुद्ध सिनेमाले सन्देश दिने भन्दै कर छुट दिएका हुन् । यस्तै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि मंगलबार कर छुटको घोषणा गरेका छन् ।
कर्नाटकको चुनावी र्यालीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ‘द केरला स्टोरी’को प्रशंसा गरेका छन्।
‘फिल्म द केरला स्टोरीले विशेषगरी केरला जस्तो समाजमा आतंकवादको नतिजालाई उजागर गर्ने प्रयास गरेको छ, जुन मेहनती, प्रतिभाशाली र बौद्धिक व्यक्तिहरूको सुन्दरभूमि हो । कांग्रेस पार्टीले अब फिल्मलाई प्रतिबन्ध लगाउन र आतंककारी तत्वलाई समर्थन गर्ने प्रयास गरिरहेको छ,’ मोदीले उक्त चुनावी र्यालीमा भने ।
सिनेमा नेपाली हलहरुमा पनि चलिरहेको छ।