टोपबहादुर गत बुधबार नै पक्राउ पर्थे, आईजीपीले नै प्रहरीलाई फिर्ता बोलाएका थिए-Sutra News

टोपबहादुर गत बुधबार नै पक्राउ पर्थे, आईजीपीले नै प्रहरीलाई फिर्ता बोलाएका थिए

बुधबार, २७ बैशाख २०८०

बुधबार, २७ बैशाख २०८०

काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी अहिले फरार छन्। तर उनलाई फरार बनाउन नेपाल प्रहरी नै लागेको देखियो। आईजीपी बसन्त कुँवरले नफर्काएको भए पूर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझी गएको बुधबार नै पक्राउ परिसकेका हुन्थे। रायमाझीलाई पक्राउ गर्न रुपन्देहीकै प्रहरीको टोली बुधबार साँझ नै उनी नजिक पुगेर पनि फर्किन बाध्य भयो।



भुटानी शरणार्थीका नाममा अमेरिका पठाउने भन्दै नेपालीलाई ठगेको आरोपमा संलग्न रहेको भन्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। आफूलाई पक्राउ गर्न लागेको खबर थाहा पाएका रायमाझीले प्रहरी प्रमुख कुँवरलाई फोन गरेका थिए। आईजीपी कुँवर पनि त्यतिबेला बुटवल नै पुगेका थिए।

रायमाझीले कुँवरलाई आफैँ प्रहरी कार्यालयमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्ने बताए। त्यसअघि सार्वजनिक कार्यक्रममा समेत उनले पत्रकारसँग कुरा गर्दै आफूमाथिको आरोप अस्वीकार गरे र काठमाडौं गएर अनुसन्धानमा सहयोग गर्ने बताएका थिए।

रायमाझीले फोन गरेर आफैँ प्रहरी कार्यालय उपस्थित हुने बताएपछि आईजीपीले फरार अभियुक्तलाई पक्राउ गर्न गएको टोली फर्काएका थिए।

रायमाझीले त्यसै साँझ ९ बजे सभामुख देवराज घिमिरेसँगै काठमाडौँ फर्किने गरी टिकट मिलाएका थिए। त्यसअघि नै काठमाडौं आउने टिकट काटेका उनले राति ९ बजेलाई सारेका थिए। त्यही फ्लाइटमा उनी काठमाडौं फर्किनेमा प्रहरी ढुक्क भयो। उनी काठमाडौँ आउने तयारीबारे थाहा पाएको प्रहरीले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा पनि टोली खडा पारेको थियो।

तर रायमाझी अर्घाखाँचीबाट विमानस्थल आउँदै गर्दा उनका छोरा सन्दीपलाई प्रहरीले बुटवलबाट पक्राउ गर्यो। छोरो पक्राउ परे लगतै उनको मोबाइल बन्द भयो। रायमाझी फरार भए, सभामुखसँग काठमाडौं पनि आएनन्।

त्यसको भोलिपल्टसम्म पनि रायमाझी आफैं आउनेमा काठमाडौं परिसरका प्रहरीहरू आशावादी देखिन्थे। तर साँझसम्म पनि उनी उपस्थित भएनन्। त्यसपछि द्रुतगतिमा खोजतालास गरेको प्रहरीले फेला पार्न सकेको छैन।

शुक्रबार र शनिबार बिदा भएका कारण अदालतमा उपस्थित नगराउने भएकाले आइतबार उपस्थित हुन सक्छन् भन्ने प्रहरीको आकलन पनि फेल खायो।

अहिले रायमाझी भगाएको आरोप प्रहरीलाई लाग्न थालेको छ। तर रायमाझी भने आईजीपीकै कारण भागेका हुन्। प्रहरीले अहिले खोजतलास गरे पनि फेला पार्न नसकेको बताएको छ।

अब हप्ता दिनपछि प्रहरीले यो मुद्दाको अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने छ। वकिल कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ।

त्यसअघि पक्राउ नपरे रायमाझी अब अदालतमा मुद्दा बुझाएपछि सिधै उपस्थित हुन सक्छन्।

यस्तै, रायमाझीलाई पक्राउ गर्ने तयारी गरिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि विरोध गरेका थिए। उनले उपप्रधानमन्त्री भइसकेको व्यक्ति भागेर नजाने भन्दै बाटोबाटै पक्राउ गर्न लागेको भन्दै आपत्ति जनाएका थिए। उनले यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समेत कुरा गरेका थिए।

एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीबीच कुरा हुनु र रायमाझी फरार हुनु सँगै भएको थियो। अहिले त ओली, प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि खुसुक्क भेट हुन थालेको छ। तीनवटै पार्टीका ठूला नेताको नाम मुछिएपछि उनीहरू हर हालतमा जोगाउने उपाएको खोजीमा छन्।

अहिलेसम्म प्रहरीले उनका छोरा सन्दीपसहित १० जनालाई पक्राउ गरेको छ। रायमाझीसहित पक्राउ पुर्जी जारी भइसकेका अझै १० जना फरार छन्।

उनीहरुलाई पनि मुद्दा बुझाउनुअघि पक्राउ गरिसक्ने प्रहरीले जनाएको छ। पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज र टोपबहादुरको भने संलग्नता खुल्ने बलियो प्रमाण फेला परिसकेको प्रहरीले जनाएको छ।

नेकपा एमालेले पनि घटनालाई छानबिनका लागि सहयोग गर्ने भनेको छ तर उसले आरोप लागेका आफ्ना नेता रायमाझीलाई निलम्बनमा राख्ने कुनै तयारी गरेन।

कांग्रेसले पनि पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण, उनकी श्रीमती मञ्जु, देउवाकी श्रीमती आरजुको नाम यस प्रकरणमा मुछिए पनि कुनै धारणा सार्वजनिक गर्न सकेको छैन। उल्टै दोषी जोगाउन लागेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट