काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। नक्कली शरणार्थी प्रकरणमा जोडिएपछि अनुसन्धानका लागि खाँणलाई आज (बुधबार) बिहान उनकै निवास चाबहिलबाट पक्राउ गरिएको काठमाडाैँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले सुत्रन्यूजलाई जानकारी दिए।
केही दिनअघि खाणको अडियो बाहिरिएको थियो। खाणकी श्रीमती मञ्जु पनि यस प्रकरणमा जोडिएकी छन्। उनले पनि नक्कली शरणार्थी प्रकरणमा करोडौँ रकम बुझेको आरोप छ। त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नि आरजु देउवा राणामाथि पनि सोही आरोप छ। उनीहरूको अडियो पनि बाहिरिएको छ।
खाणले नक्कली शरणार्थी प्रकरणमा सहयोग हुने गरी गृहसचिवमा टेकनारायण पाण्डेलाई ल्याएका थिए। खाणनिकटका पाण्डे भने यसअघि नै पक्राउ परिसकेका छन्।
नक्कली शरणार्थी बनाएर नेपालीलाई ठग्न सहयोग गरेको आरोप लागेका नेकपा एमालेका सचिव टोपबहादुर कार्की भने फरार छन्। उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। रायमाझीका छोरा सन्दीप, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत १० जना यही प्रकरणमा पक्राउ परिसकेका छन्।