प्रचण्ड, देउवा र ओलीलाई रविको चेतावनी : अपराधीलाई जोगाए रास्वपा हेरेर बस्दैन-Sutra News

प्रचण्ड, देउवा र ओलीलाई रविको चेतावनी : अपराधीलाई जोगाए रास्वपा हेरेर बस्दैन

बुधबार, २७ बैशाख २०८०

बुधबार, २७ बैशाख २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलका शीर्ष नेतालाई अपराधमा मुछिएकालाई बचाउन भेटघाट र दौडधुप गरेको भन्दै खबरदारी गरेका छन्।



नक्कली शरणार्थी प्रकरणमा ठूला दलका नेताहरूको नाम जोडिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा लगातार भेटघाट गरेको प्रति आपत्ति जनाउँदै उनले चेतावनी दिएका हुन्।

उनले पक्राउ पुर्जी जारी भएर पनि फरार रहेका एमाले सचिव टोपबहादुर रायमाझीलाई नेताहरूले नै लुकाएको आरोप लगाएका छन्।

‘शीर्ष नेताहरूको तीव्र भेटघाट, फरार(गराइएका) अझै सम्पर्क बिहीन, नाम आएकाहरूमाथि अनुसन्धान फितलो! खबरदार,’ लामिछानेले भनेका छन्, ‘अनुसन्‍धानको लहरोले ठूला नेता र तिनका सन्तानको “जगजाहेर तान्डव”लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन। यो आँधीलाई ख्याल सम्झने भूल नगर्नू होला। प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस!!’

नक्कली शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएको छ। उनी फरार छन्। उनलाई जोगाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै सक्रिय छन्। यही पक्ररणमा मुछिएका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण भने आज पक्राउ परेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट