गगन र विश्वले खाणलाई निलम्बन गरौँ भन्दा देउवा किन बोलेनन्?-Sutra News

गगन र विश्वले खाणलाई निलम्बन गरौँ भन्दा देउवा किन बोलेनन्?

बिहिबार, २८ बैशाख २०८०

बिहिबार, २८ बैशाख २०८०

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ। पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो।



खाण कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनलाई निलम्बन गर्नुपर्ने माग पार्टीभित्र उठेको छ। बुधबार बसेको बैठकमा सहमति नजुटेपछि पुनः बिहीबार बैठक बस्ने गरी बैठक सकिएको थियो।

बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई निलम्बन गर्नुपर्ने धारणा राखेको स्रोतको दाबी छ। यस विषयमा सभापति शेरबहादुर देउवा मौन रहेका थिए।

‘महामन्त्री गगन र विश्वले नै निलम्बन गरेर अगाडि बढौँ अनुसन्धानमा बाधा नपुर्‍याऔं भनेका थिए,’ बैठकमा सहभागी एक पदाधिकारी भन्छन्,’तर सभापतिले केही नबोली टारिदिनु भयो।’

यही कारण बैठक आजलाई सारिएको थियो। आज (बिहीबार) यो विषयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पुनः छलफल गर्ने तय भएको हो। भुटानी शरणार्थी प्रकरणमा परेका खाण अहिले प्रहरी हिरासतमा छन्। उनलाई निलम्बन गरेर पार्टीले नैतिकता देखाउनुपर्ने दुई महामन्त्रीको अडान छ।

यो प्रकरणमा देउवा पत्नि आरजु राणाको पनि नाम जोडिएको छ। उनले करोडौँ रकम लिएको अडियो सार्वजनिक भएको छ। राणाले उक्त अडियो आफ्नो नभएको भन्दै छानबिनको माग राखेर साइबर ब्युरोमा निवेदन पनि दिएकी छन्। उनीसँगै खाण पत्नि मञ्जुविरुद्ध पनि सोही आरोप छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट