काठमाडौँ- देश यतिबेला कठिन आर्थिक मन्दीको चपेटामा छ व्यापार व्यवसाय चौपट छ, आम नागरिक आक्रान्त छन् । अनि वास्तविक सार्वभौम भनिएको संसद्को बर्खे अधिवेशन चलिरहेको छ । यो बेला देशको आर्थिक संकटलाई कसरी हल गर्ने भन्ने विषयमा छलफल हुनुपर्नेमा आइतबारदेखि सुरु भएको बजेट अधिवेशनमा सहभागी १६७ जना सांसदले भ्रष्टाचार वा यो सम्बन्धी आवाज मात्रै उठाएका छैनन्, संसद्मै अर्धनग्न हुनेदेखि रोस्ट्रम घेराउसम्मका काम भएका छन् ।
संसदमा सहभागी सत्तापक्ष र प्रतिपक्षी मात्रै होइन स्वतन्त्र सांसदहरूले समेत भ्रष्टाचारविरुद्ध आवाज उठाएका छन् । संसदमा सबै सांसदको एउटै आवाज सुनिएको छ भ्रष्टाचारको विरुद्धमा ।
यो त संसदको कुरा भयो । अर्कोतिर देशको कार्यकारी प्रमुख रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने हरेक दिन जसो यो त ट्रेलर मात्रै भएको पूरा ‘फिल्म’ बाँकी रहेको भन्दै बारम्बार ‘फिल्म’ देखाउने बताउँदै आएका छन् । प्रधानमन्त्रीले सार्वजनिक गर्ने ‘फिल्म’को प्रतीक्षामा राजनैतिक दलका नेताहरू, प्रशासक र आम नागरिक पनि प्रतीक्षारत देखिँदा अहिले मुलधारका राजनैतिक दलको प्रमुख र दोस्रो स्थानमा रहेका दलको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीचाहिँ नायक हुन् कि खलनायक हुन् भन्ने प्रश्न सर्वत्र उठ्न थालेको छ । उनीहरुले आफूलाई बारम्बार नायक हौ भन्दै स्थापित गर्ने प्रयास गरिरहँदा आम नागरिकहरू भने ओली र देउवालाई पनि खलनायक भएको भन्दै सामाजिक सञ्जालमा जबर्जस्त हल्ला गरिरहेका छन् । जसको आधिकारिकता परिक्षण हुने क्रममै छ ।
प्रधानमन्त्रीले सार्वजनिक गर्ने फिल्मको मुख्य पात्रहरूमा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण र नेकपा एमालेका निलम्बित सचीव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेकनारायण पाण्डे देखिएपनि यसको लिड रोल कस्ले निर्वाह गर्ने हुन् अहिलेसम्म यकिन छैन् । यो फिल्मको स्कृप्ट राइटिङको काम गरिरहेको नेपाल प्रहरीले थप स्कृप्ट सार्वजनिक नगर्दा यसमा मुख्य रोल कस्को हो भन्ने स्पष्ट हुन सकेको छैन् । स्कृप्ट नै पूरा नहुँदै फ्लोरमा गएको ‘फिल्म’लाई यतिधेरै प्रतीक्षा गरिएको सम्भवत पहिलो नेपाली ‘फिल्म’ हुनुपर्छ भुटानी शरणार्थी सम्बन्धि ठगी प्रकरण ।
गत मंसिरमा भएको आम निर्वाचन र वैशाखमा भएको उपनिर्वाचन पछि नेपाली राजनैतिक रंगमञ्चमा सबैभन्दा बढी चर्चामा रहेको एउटा वाक्यांश हो । ‘मुलधारमा रहेका दलहरू अब सच्चीने कि सच्चीने’ नयाँ दलहरूको जबर्जस्त हस्तक्षेपले मुलधारमा रहेका दलहरूलाई सच्चीन बाध्य बनाउने आकलन भैरहेको बेलामा सार्वजनिक भएको नेपाली कथानक राजनैतिक ‘फिल्म’ भुटानी शरणार्थी प्रकरणले नेपाली राजनीतिको भ्रष्टाचारिकरणको कत्तिको शल्यक्रिया गर्ला अनि यसका नायक र खलनायक को-को बन्लान भन्ने विषय जान्न भने केही दिन अझै प्रतीक्षा गर्नुपर्ने देखिन्छ । यो घटनाको अनुसन्धानलाई नजिकबाट नियालिरहेका हरूको कुरालाई आधार मान्ने हो भने यो सबै खलनायकहरूको नेतृत्व भएको ‘फिल्म’ हो । यसमा कोही नायक छैनन् छन् त केवल खलनायक मात्रै ।