सचिव पाण्डेको मोबाइलमा खाणको म्यासेज : नरेन्द्रले पनि आस गर्छ, पाँच लाख फालिदिनुपर्ला-Sutra News

सचिव पाण्डेको मोबाइलमा खाणको म्यासेज : नरेन्द्रले पनि आस गर्छ, पाँच लाख फालिदिनुपर्ला

बिहिबार, २८ बैशाख २०८०

बिहिबार, २८ बैशाख २०८०

काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेर अनुसन्धान जारी राखेको छ।  प्रहरीले यी दुवैलाई आवश्यक थुप्रै प्रमाण जुटाएर पक्राउ गरिएको भनेको छ।



खाण र केसीलाई बुधबार पक्राउ गरेर प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ । प्रहरीका अनुसार खाणविरुद्ध चारवटा बलिया प्रमाण फेला परेका छन्, जसले यो ठगी धन्दामा उनको प्रत्यक्ष संलग्नता देखिन्छ ।

खाँणले आफू गृहमन्त्री हुँदा शरणार्थीसम्बन्धी कार्यदलको गोप्य प्रतिवेदन किर्ते गरेको र ठगीमा सघाएबापत बिचौलियाबाट १ करोड २४ लाख भन्दा धेरै रकम लिएको प्रमाण भेटिएको प्रहरीको दाबी छ ।

यस्तै यही प्रकरणमा पक्राउ गरिएका सचिव टेकनारायण पाण्डेले पनि खाँणलाई बुझाउन बिचौलियासँग रकम लिएको स्वीकार गरेको विषयलाई पनि प्रहरीले बलियो प्रमाण मानेको छ । यसबाहेक विभिन्न मितिमा खाँणले मन्त्रीस्तरिय निर्णय गराएर बिचाैलिया समूहलाई सघाएकाे पुष्टि हुने आधारहरू भेटिएका अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् ।

बुधबार पक्राउ परेका तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीले पनि ठगी प्रकरणमा पाँच लाख रुपैयाँ लिएको खुलेको प्रहरीले जनाएकाे छ । यसअघि पक्राउ परेका सचिव टेकनारायण पाण्डेको मोबाइलबाट याे तथ्य उजागर भएकाे प्रहरी दाबी छ । ‘नरेन्द्रले पनि आस गर्छ, त्यसलाई पाँच लाख फालिदिनुपर्ला’ भन्ने च्याट विवरण पाण्डेकाे माेबाइलमा भेटिएकाे छ।

हुन त पाण्डेले पक्राउ पर्नुअघि नै आफ्नो मोबाइल फर्म्याट गरिसकेका थिए । तर प्रहरीले डाटा रिकभर गरेर प्रमाण फेला पारेकाे हाे । प्रहरीले मोबाइलको डाटा रिकभर भएपछि खाँण र पाण्डेबीच भएको गोप्य म्यासेज पढेपछि मात्रै खाँणलाई पक्रेकाे हाे । म्यासेजमा करोडौँ रकम लेनदेनबारे दुई जनाबीच कुराकानी भएको भेटिएको छ । यही प्रमाण खाँणलाई पक्राउ गर्न प्रहरीका लागि पर्याप्त बनेकाे हाे ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डको पर्दाफास हुँदा तत्कालीन गृहमन्त्री र गृहसचिव नै अहिले प्रहरी हिरासतमा पुगेका हुन् । आठ सयभन्दा धेरै मानिसलाई ठगी गरी करोडौँ रुपैयाँ उठाएको यो प्रकरणमा पक्राउ पर्ने पूर्वगृहमन्त्री खाँण र नेपाल सरकारका सचिव पाण्डे सबैभन्दा उच्च तहका व्यक्ति हुन् । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी फरार छन् । खाँण पक्राउ परेसँगै यो प्रकरणमा जोडिएका थप हाई प्रोफाइल व्यक्तिहरू पनि तानिने सम्भावना बढेको छ ।

सचिव पाण्डेलाई खाणकी श्रीमती मञ्जुकै जोड बलले गृहमा ल्याइएको थियो। मञ्जुले पनि यो प्रकरणमा करोडौँ रकमको डिल गरेको अडियो सार्वजनिक भएको छ। प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट