काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा सरकारले अनुसन्धान बढाएकोमा खुशी व्यक्त गरेका छन्। पार्टी मुख्यालयमा केन्द्रिय कमिटीको बैठकमा सहभागी हुन पुगेका ओलीले खुशी व्यक्त गरेका हुन्।
बैठकमा प्रवेश गर्नुअघि संचारकर्मीहरूलाई प्रतिक्रिया दिदैं ओलीले यो प्रकरणमा प्रधानमन्त्रीले ट्रेलरमात्र देखाएको र बाँकी फिल्म बाँकी नै रहेको भनेर दिएको अभिव्यक्तिप्रति इंगित गर्दै आफू फिल्मको प्रतिक्षामा रहेको बताए।
‘जसले फिल्म देखाउँछु भनेको त्यो चाहिँ सुरु भएको छैन। त्यसको प्रतीक्षा अझै बाँकी छ’, ओलीले संचारकर्मीको प्रश्नमा भने। त्यसैगरी ओलीले आफूले भ्रष्टाचार नियन्त्रण गरौं भनेर लड्दै आइरहेकोमा त्यो काम भर्खर बढेकोमा खुशी मिलेको बताए। ‘भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लडाइँ हो। अहिले आएर बल्ल अगाडि बढेको छ। त्यसमा म खुसी नै छु।’