काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले पनि आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको छ । उनले आफूले अरू व्यक्तिसँग गरेको कुराकानी, म्यासेज, फोन डायल नम्बर सबै फर्म्याट गरेको पाइएको हो।
उनले को कोसँग कुराकानी गरेका थिए भनेर अनुसन्धान गर्नका लागि प्रहरीले मोबाइलको डिटेल हेर्न लागेको हो । पक्राउ परेका सचिव टेकनारायण पाण्डेले ह्वाट्सएपमा गरेको कुराकानी देखिएको तर खाँणको मोबाइलमा नेदेखिएपछि उनको पनि मोबाइल फर्म्याट भएको पाइएको हो ।
बुधबार पक्राउ परेका तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीले पनि ठगी प्रकरणमा पाँच लाख रुपैयाँ लिएको खुलेको प्रहरीले जनाएकाे छ । पक्राउ परेका सचिव टेकनारायण पाण्डेको मोबाइलबाट याे तथ्य उजागर भएकाे प्रहरी दाबी छ । ‘नरेन्द्रले पनि आस गर्छ, त्यसलाई पाँच लाख फालिदिनुपर्ला’ भन्ने च्याट विवरण पाण्डेकाे माेबाइलमा भेटिएकाे छ।
तर खाणको मोबाइलमा यो म्यासेज नदेखेपछि प्रहरीले उनले फर्म्याट गरेको थाहा पाएको थियो। खाणको मोबाइल पनि रिकभरका लागि मोबाइल प्रयोगशालामा पठाइएको छ । प्रहरीले मोबाइलको डाटा रिकभर भएपछि खाँण र पाण्डेबीच भएको गोप्य म्यासेज पढेपछि मात्रै खाँणलाई पक्रेकाे हाे । म्यासेजमा करोडौँ रकम लेनदेनबारे दुई जनाबीच कुराकानी भएको भेटिएको छ । यही प्रमाण खाँणलाई पक्राउ गर्न प्रहरीका लागि पर्याप्त बनेकाे हाे ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डको पर्दाफास हुँदा तत्कालीन गृहमन्त्री र गृहसचिव नै अहिले प्रहरी हिरासतमा पुगेका हुन् । आठ सयभन्दा धेरै मानिसलाई ठगी गरी करोडौँ रुपैयाँ उठाएको यो प्रकरणमा पक्राउ पर्ने पूर्वगृहमन्त्री खाँण र नेपाल सरकारका सचिव पाण्डे सबैभन्दा उच्च तहका व्यक्ति हुन् । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी फरार छन् । खाँण पक्राउ परेसँगै यो प्रकरणमा जोडिएका थप हाई प्रोफाइल व्यक्तिहरू पनि तानिने सम्भावना बढेको छ।
https://www.sutranews.com/180538/2023/11/