काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका सांसद सञ्जय गौतम विकास निर्माणका १५ बुँदे माग राख्दै आमरण अनशनमा बसेका छन्।
बर्दिया–१का प्रतिनिधिसभा सदस्य गौतमले शनिबार जब्दीघाटको भत्किएको पुलमुनि आमरण अनशन शुरु गरेका हुन्।
उनले जब्दीघाटको भत्किएको पुल निर्माणको काम शुरु गर्नुपर्ने पहिलो माग राखेका छन्। उनले जिल्ला सदरमुकाम डुबान र कटानको कारण जोखिममा रहेको भन्दै तटबन्धका काम गर्नुपर्ने र सिँचाइ आयोजनामा बजेट सुनिश्चित हुनुपर्ने माग पनि राखेका छन्।
सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल उद्घाटन नहुँदै २०७४ साउनमाभत्किएको थियो। यो पुल पप्पु कन्स्ट्रक्सनले बनाएको थियो।
यो पुल पप्पु कन्स्ट्रक्सनले साढे १६ करोड बढी लागतमा बनाएको थियो । तर, उदघाटन हुन नपाई भत्किएको थियो । यसको निर्माणमै गुणस्तरहीन सामाग्री प्रयोग भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए ।
पुल ४ सय ३५ मिटर लामो र ७.४ मिटर चौडा छ । यो पुल तरेर गुलरियाबाट बारबर्दिया नगरपालिका हुँदै पूर्वपश्चिम राजमार्गको रम्बापुर आउ-जाउ गर्न सकिन्थ्यो । यो पुल पनि भत्किएपछि सदरमुकाम गुलरियाको चारैतर्फबाट यातायात सम्पर्क टुटेको थियो। अहिले विभिन्न क्षेत्रबाट अस्थायी मार्ग बनाइएको छ।