काठमाडौँ- नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै चलाइएकाे ठगी धन्दामा संलग्न भएकाे आराेपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणकाे आज सरकारी वकिलकाे राेहवरमा प्रहरीले बयान लिने भएकाे छ ।
नक्कली शरणार्थी प्रकरणकाे अनुसन्धानका लागि खाँण गत बुधबार निवासबाटै पक्राउ परेका थिए । प्रारम्भिक बयान तथा अनुसन्धानका क्रममा खाँणले शरणार्थी प्रकरण गिराेहसँग मिलिभगत गरेकाे तथ्य खुलेकाे प्रहरीकाे भनाइ छ ।
अहिलेसम्मको सोधपुछ र प्रारम्भिक बयानमा खाँणले गिरोहका सदस्यसँग भेटेको स्वीकार गरेकाे र त्यसलाई पुष्टि गर्ने विवरण प्राविधिक अनुसन्धानबाट पनि प्राप्त भएका अनुसन्धानमा रहेका प्रहरी अधिकारीहरूले बताएका छन् ।
प्रहरी स्राेतका अनुसार खाँणअघि पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले ‘गृहमन्त्रीज्यूकै चाहना बमाेजिम आफूले काम गरेकाे बयान दिएका छन् । पाण्डेकाे साेही बयान र फेला परेका थप तथ्य प्रमाणका आधारमा खाँण पक्राउ परेका थिए ।
पक्राउ पर्नुअघि खाँण र पाण्डे दुवैले आ–आफ्नाे माेबाइल फर्म्याट गरेका थिए । हाल पाण्डेकाे माेबाइल रिकभर भइसकेकाे छ भने खाँणकाे माेबाइल रिकभरका लागि प्रयाेगशालामा पठाइएकाे छ ।
पाण्डेकाे माेबाइल रिकभर भएपछि शरणार्थी प्रकरणमा खाँणकाे संलग्नता रहेकाे निचाेड निस्केकाे प्रहरीकाे भनाइ छ । अब खाँणकाे माेबाइलका डाटा पनि रिकभर भए अनुसन्धान थप अगाडि बढ्ने छ ।