काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पूर्वसभासदसमेत रहेका शेर्पाविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो।
विभिन्न जिल्लामा नक्कली शरणार्थी बन्न तयार भएकाहरूसँग रकम असुलेको, यो प्रकरणमा पक्राउ परेकाहरूलाई हिरासतमा पुगेर भेटेको आरोप उनीमाथि छ। उनले केही दिनअघिमात्रै प्रहरी हिरासतमा रहेका केशव दुलाल र सानु भण्डारीलाई भेटेका थिए।
शेर्पा र पूर्वगृहमन्त्री बालकृष्ण खाणबीच पनि कनेक्सन देखिएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो। शनिबार (हिजो) मैजुबहालमा रहेको शेर्पाको घरमा प्रहरीले छापा हानेको थियो उनी त्यहाँ भेटिएनन्।
केही दिनअघि कांग्रेस नेता खाणलाई प्रहरीले मैजुबहालको निवासबाट पक्राउ गरेको थियो। सो प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परेका छन्। एमाले सचिव टोपबहादुर रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। उनी पनि फरार छन्।