काठमाण्डौ महानगरपालिकाको नेतृत्व गरिरहेका बालेन्द्र साह (बालेन साह)ले नयाँ दल खोल्ने तयारी गरिरहेको उनी निकट स्रोतले जनाएको छ।
‘नयाँ र पुराना दुबै दल चोर’ भएको टिप्पणी गर्दै आएका मेयर साहको अभिव्यक्तिले पनि यस्तै संकेत गरेको थियो ।
उनी निकट स्रोतका अनुसार अहिले मुलधारमा रहेका राजनैतिक दलहरूप्रती नकारात्मक रहेका साहले योगदानमा आधारित राष्ट्रवादी नयाँ राजनैतिक दल खोल्ने तयारी अगाडि बढाएका हुन्।
गएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाटै काठमाण्डौ महानगरपालिकाको प्रमुख जितेका साह गएको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट देखिएको टिप्पणी गरिदैं आएको भएपनि साहले आफू स्वतन्त्र नै रहेको जानकारी दिएका थिए ।
मंसिरको आम निर्वाचनपछि पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको दल सरकारमा सहभागी भएपछि मेयर साहले नयाँ र पुराना दुबै दललाई एउटै रहेको आयशको टिप्पणी गरेको विश्वास गरिन्छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको उच्च नेतृत्व नै मुछिन थालेपछि मेयर साहले देशमा वैकल्पिक शक्तिको आवश्यकता महसुस गर्दै नयाँ राजनैतिक दल खोल्ने तयारीमा लागेको उनी निकट स्रोतले सुत्र न्युजलाई जानकारी दियो।
भ्रष्टाचार र अनियमितताको पर्याय बनेका अहिलेका कांग्रेस र एमालेलाई २०८४ को आम निर्वाचनमा प्रतिस्पर्धी नै नमानेका साहले लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग मुख्य प्रतिस्पर्धा हुने आकलन गरेको बताइन्छ ।
२०८४ को निर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो पार्टी सत्तापक्ष र प्रमुख प्रतिपक्ष हुनेछन् त्यसपछि नेपालको राजनीतिक कोर्स बदलिएर उन्नत राजनीतिक लयमा जाने दाबी गरिएको छ।
यदि मेयर साहको उक्त योजना अनुसार नै काम अगाडि बढ्ने हो भने २०८४ को आम निर्वाचनमा कांग्रेस, एमाले जस्ता परम्परागत राजनैतिक दलहरूलाई सत्ता माथि आफ्नो पकड राखिराख्न सहज नहुने विश्लेषकहरूले बताउँदै आएका छन्।