कसरी मिल्यो, धरान उपमहानगरको विवाद ?-Sutra News

कसरी मिल्यो, धरान उपमहानगरको विवाद ?

आइतबार, ३१ बैशाख २०८०

आइतबार, ३१ बैशाख २०८०

काठमाडौं । स्थानीय तह निर्वाचनको परिणामपछि सर्वाधिक चर्चामा रहने स्थानीय तहमध्ये एक हो धरान उपमहानगरपालिका ।



मुख्यतयाः नागरिक अगुवाको पहिचान बनाएका हर्क साम्पाङको विजयकै कारण चर्चामा रहेको यो उपमहानगरपालिका पछिल्लो समय श्रमदानस्थलकाे रुपमा पनि चर्चित छ ।

अझ पछिल्लो समय मेयर र वडाध्यक्षबीचको टसलका कारण पनि चर्चामा थियो । वडाध्यक्ष र उपमहानगरप्रमुखबीच धकुल्ले र गुइँठेको उपमा दिएर आरोप प्रत्यारोपमासमेत उत्रिएका थिए । जसले धरानको चर्चालाई बढवा दियो ।

तर, सो आरोप प्रत्यारोप आज (आइतबार) टुंगिएको छ । उपमहानगरपालिका उपप्रमुख अइन्द्रविक्रम बेघाका अनुसार धरानमा देखिएको विवाद आजबाट अन्त्य भएको हो । धरानको जनदबाब र सबैको इच्छाका कारण विवाद मिलेको उनको भनाइ छ । यस मिलापमा सधैँ मेयरको साथ नछाड्ने उपमेयर मेघाको पनि हात छ ।

उपमेयर बेघाले अब परिपक्व र जिम्मेवारीसहित अगाडि बढ्ने सहमति भएको उनले बताए । यद्यपि धरानमा कसैले जितेको र कसैले नहारेको उनको भनाइ छ ।

यसअघि धरानका मेयर साम्पाङ र वडाध्यक्षबीच पानी बाराबारको अवस्था थियो ।

तर, आइतबारको कार्यपालिका बैठकमा  मेयर हर्क साम्पाङले यसअघि आफूले गरेका सबै गल्तीप्रति क्षमायाचना गरेका थिए । सो क्रममा उनले वडाध्यक्षहरुको राजीनामा माग गरेकोप्रति पनि आत्मालोचना गरे । मेयर साम्पाङले करिब दुई महिनाअघि वडाध्यक्षहरुको राजीनामा माग गरेका थिए ।

यस्तै, वडाध्यक्षहरुले पनि यसअघि आफूले गरेका गलत क्रियाकलापको क्षमायाचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट