काठमाडौँ- क्याटलन क्लब बार्सिलोना चार खेल अगावै ला लिगा च्याम्पियन बनेको छ । क्याटलन प्रतिद्वन्दी स्पान्योललाई ४-२ ले पराजित गर्दै चार खेल बाँकी छँदै चार वर्षपछि ला लिगा च्याम्पियन बनेको हो ।
पूर्व बार्सिलोना स्टार लियोनल मेस्सीले क्लब छाडेपछि बार्सिलोनाको यो पहिलो ला लिगा उपाधी हो । जाभी हर्नान्डेज प्रशिक्षक बनेपछि प्रशिक्षकको रूपमा यो उनको पहिलो उपाधी पनि हो । यता बार्सिलोनासँग पराजित स्पान्योल भने बार्सिलोनासँग पराजित भएसँगै रेलिगेशनमा जाने खतरा बढेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा स्टार फर्वाड रोवर्ट लेवान्डोस्कीले दुई तथा एलेक्स बाल्डे र जुल्स कुन्डेले एक-एक गोल गरेका थिए । स्पान्योलका लागि जेभिएर पुएडो र जोसेलुले एक-एक गोल फर्काएका थिए ।