नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन हुने भएको छ।
कुनै पनि सांसदलाई नियन्त्रणमा लिएको जानकारी प्रहरीले प्रतिनिधि सभामा जानकारी दिएपछि सभामुखले निलम्बन गर्ने प्रावधान छ।
प्रहरीले वैशाख २० गते रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि उनी परार रहँदै आएकोमा हिजो आइतबार बुढानिलकण्ठबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो।
कुनै पनि सांसद प्रहरीको नियन्त्रणमा परेपछि सोको जानकारी संसदलाई दिनुपर्छ। त्यसपछि मात्रै निलम्बनको प्रकिया अघि बढ्छ।
यदि संसदको अधिवेशन चलिरहेको छ भने सभामुखले बैठकमा जानकारी गराउने प्रावधान छ भने अधिवेशन नभएका बखतमा सूचना टाँस गरेर निलम्बनको सूचना दिइन्छ।
सांसद रायमाझी पक्राउ परेको जानकारी प्रहरीले अहिलेसम्म संसदलाई गराएको छैन। प्रहरीले रायमाझीलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न अदालतबाट अनुमति लिनेछ।
मंसिरमा भएको निर्वाचनमा रायमाझी अर्घाखाँचीबाट निर्वाचित भएका हुन्।