नेपाल–भारत सीमावर्ती प्रशासककाे बैठक सम्पन्न, के दशगजा क्षेत्र खाली हुन्छ ?-Sutra News

नेपाल–भारत सीमावर्ती प्रशासककाे बैठक सम्पन्न, के दशगजा क्षेत्र खाली हुन्छ ?

सोमबार, १ जेष्ठ २०८०

सोमबार, १ जेष्ठ २०८०

काठमाडौं । नेपाल भारत सीमानाका दशगजा खाली गराउन सीमावर्ती प्रशासक सहमत भएका छन् ।



नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (बिडिसिसी) को बैठकमा दुई देशका सीमावर्ती प्रशासकबीच दशगजा क्षेत्रमा रहेका खेतीपाती र घरटहरा हटाउने सहमति भएको हो । बैठक सोमबार भारतको किसनगञ्जमा बसेको थियो ।

बैठकमा नेपाली टोलीको नेतृत्व मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव र भारतीय टोलीको नेतृत्व विहार प्रान्तको किसनगञ्ज जिल्लाका मजिस्ट्रेट श्रीकान्त शास्त्रीले गरेका थिए ।

बैठकपश्चात् जानकारी दिँदै किसनगञ्जका जिल्ला मजिस्ट्रेट शास्त्रीले दुवै देशको सीमाको दशगजा क्षेत्र अतिक्रमणमुक्त गराउने विषयमा सहमति भएको बताए ।
उनले नदीले बगाएका, पुरेका र हराएका सीमास्तम्भहरूको खोजी गरी यथास्थानमा पुनःस्थापना गर्नेसमेत सहमति भएको जानकारी दिए ।

‘दशगजा क्षेत्र खाली गराउने र क्षतिग्रस्त सीमा स्तम्भको मर्मत गर्न हामी दुवै देशका जिल्ला प्रशासकहरु सहमत भयौँ,’उनले भने ।

यसैगरी, बैठकमा नेपाली टोलीको नेतृत्व गरेका मोरङका प्रमुख जिल्ला अधिकारी यादवले दुवै देशका सीमा क्षेत्रका अधिकारीबीच १४ वटा विषयमा सौहार्द रूपमा छलफल भएको बताए ।

उनले हात्ती आतङ्क, लागूऔषधको कारोबार, मानव तस्करी, चोरी निकासीलगायतका महत्वपूर्ण विषयमा नियन्त्रणका लागि भारतीय पक्षलाई नेपालका तर्फबाट आग्रह गरिएको जानकारी दिए ।

सीमा क्षेत्रमा सवारी साधनको नियमित चेकजाँच, अपराधी पक्राउका लागि सूचनाको आदानप्रदान गर्ने विषयमा समेत बैठकमा छलफल भएको झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट