नक्कली भुटानी शरणार्थी प्रकरणको नेक्सस र आरजु देउवाको आत्मविश्वास-Sutra News

नक्कली भुटानी शरणार्थी प्रकरणको नेक्सस र आरजु देउवाको आत्मविश्वास

मंगलबार, २ जेष्ठ २०८०

मंगलबार, २ जेष्ठ २०८०

काठमाडौँ- नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौं रुपैयाँ ठगी गरेको आरोपमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्वगृहसचिवसहितका हाई उच्च पदस्थहरू नै प्रहरी नियन्त्रणमा छन् । आरोपितहरूमाथि यतिबेला अनुसन्धान भैरहेको छ । अनुसन्धान सँगै यतिबेला आरोपितहरू सरकारी वकिल समक्ष आफ्नो साविती बयान दिदैं छन् ।



नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाउने प्रयासमा मुलधारमा रहेका राजनैतिक दलबाट प्रतिनिधित्व गर्दै राज्यकै उच्च तहमै पुगेकाहरू संलग्न हुनु आफैंमा लाजमर्दो घटना हो नै त्यो भन्दा बढी यो आपराधिक घटना हो । अबको चार दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरेपछि यो विषयमा थप विवरण अझ प्रष्ट हुँदै जाला ।

यो प्रकरणमा अहिलेसम्म संलग्नता पुष्टि नभएपनि संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाकि पत्नी आरजु राणा देउवा, पूर्व उपप्रधान तथा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा तत्कालीन गृहसचिव प्रेमबहादुर राई लगायतका हाई प्रोफाइलगरूको पनि नाम कुनै न कुनै रूपमा यो प्रकरणमा तानिएको छ ।

यो प्रकरणमा नाम मुछिएका हाई प्रोफाइलहरू मौन रहँदा आरजु राणा देउवाको आत्मविश्वासको स्तर निकै आश्चर्यजनक देखिन्छ । हुन त यसअघि यो प्रकरणमा नाम मुछिन थालेपछि पूर्व गृहमन्त्री बालकृष्ण खाणले विज्ञप्तीनै जारी गरेर उक्त आरोपको खण्डन गरेका थिए भलै आज उनी प्रहरी हिरासतमा छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछी आरजु राणा भागेर सिंगापुर पुगिसकेको जस्ता हल्ला र अफवाह आफूलाई पत्रकार भनिनेहरूले गर्न थालेपछि आरजु अझै आक्रमक बन्दै जान थालेकी छिन् । प्रतिनिधिसभा बैठकमा समेत समय लिएरै उनले आफ्ना कुरा राख्न थालेकी छिन् भने विभिन्न मिडियालाई अन्तर्वार्ता दिने क्रमलाई पनि बढाएकी छिन् ।

अर्कोतिर आफैंले पैसा मागेको भन्दै सार्वजनिक भएको अडियोको वास्तविकता पत्ता लगाएर दोषीलाई कानुनी कार्वाही गर्न प्रहरीको साइबर ब्युरोमा अफिसियल उजुरी अगाडि बढाएकि छिन् । देउवा पटकपटक प्रधानमन्त्री बन्दा समेत यति सक्रिय नबनेकी आरजुको अहिलेको सक्रियतालाई धेरैले अनौठो नै मानेका छन् ।

आफूले प्रतिनिधिसभालाई सम्बोधन गर्दा होस् वा विभिन्न सञ्चारमाध्यममा दिएका अन्तर्वार्तामा नै किन नहोस् उनले आफूले कत्ति पनि भ्रष्टाचार नगरेको दाबी गर्दै आरोपलाई प्रमाणित गर्न चुनौती दिंदै आएकी छिन् । आरजुको शैलीलाई नजिकबाट जान्नेहरूले उनको आत्मविश्वासको प्रमुख कारण आफ्ना श्रीमान् शेर बहादुर देउवाले जसरी पनि बचाउँछ्न भन्ने आरजुको बुझाई रहेको बताइन्छ ।

यो प्रकरण सार्वजनिक भएदेखि नै प्रधानमन्त्री निवास बालुवाटारमा पटकपटक बसेका तीन दलका शिर्ष नेताहरूले नै यो विषयमा कुनै न कुनै सहमति भैसकेको र त्यसकै कारण आरजुको आत्मविश्वासको स्तर बढेको विश्वास गरिन्छ । यो प्रकरणमा अनुसन्धानको लहरो आरजुसम्म पुगे यो सरकार टिक्ने अवस्था नबन्ने र सरकारले यो प्रकरणमा कुनै न कुनै रूपमा सेफ ल्याडिङ गराउने बुझाइले आरजु अझै आक्रमक बनेको जानकारहरू बताउँछन् ।

शिर्ष तीन नेताको बैठकमा नै कांग्रेस सभापति देउवाले नक्कली शरणार्थी प्रकरणमा कांग्रेसका थप नेता तानिने अवस्थामा यो सरकारको निरन्तरता बारे कांग्रेसले पुनर्विचार गर्ने चेतावनी दिएको स्रोतको दाबी छ । अर्कोतिर एमालेका हाल निलम्बित सचिव तानिइसकेको र उपाध्यक्ष समेत तानिने जोखिम रहेको अवस्थामा एमालेले यो सरकारलाई समर्थन गर्ने सम्भावना न्युन रहेको कांग्रेस नेताहरूको बुझाई छ ।

यसबाहेक पनि बोल्ने कुरामा सहि र गलतको ख्याल नगरी बोलिदिने प्रवृत्ति आरजुमा पनि छ । कहिले कांग्रेसको मेयर नभएको ठाउँमा पैसा नपठाउने भन्ने कहिले हेलिकप्टर चढेर आउन सक्ने उम्मेदवारलाई भोट दिनुस् भन्ने त कहिले फ्री भिषा फ्री टिकटमा युवाहरूलाई विदेश पठाईदिने भन्ने अभिव्यक्तिका कारण आरजु धेरै पटक विवादमा परिसकेकि छिन् । अति आत्मविश्वासका कारण यो प्रकरणमा पनि आरजुले कुनै बेतुकको कुरा बोल्दिएर आरजु फेरि विवादित बनेर अनुसन्धानको राडारमा पर्ने जोखिम पनि उत्तिकै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट