रेशम चौधरीलाई जन्मकैद गर्ने फैसला सर्वोच्चबाट पनि सदर-Sutra News

रेशम चौधरीलाई जन्मकैद गर्ने फैसला सर्वोच्चबाट पनि सदर

मंगलबार, २ जेष्ठ २०८०

मंगलबार, २ जेष्ठ २०८०
फाइल तस्बिर ।

काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई उच्च अदालत दिपायलले गरेको  जन्मकैदको फैसलालाई सदर गरेको छ ।



मंगलबार सर्वोच्चले यसअघिको कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्ने उच्च अदालतको फैसला सदर गर्दै सो फैसला गरेको हो ।

‘अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीहरूले दिएको पुनरावेदन जिकिर पुग्न सक्दैन’ फैसलामा भनिएको छ।

मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले सो फैसलालाई सदर गरेको हो ।

त्यसैगरी सर्वोच्चले प्रतिवादीहरू सीताराम चौधरी र गंगाराम चौधरीलाई सफाइ दिएको छ।  उच्च अदालत दीपायलले ज्यान मार्ने उद्योगमा सीताराम र गंगारामलाई  पाँच वर्ष कैद सजाय सुनाएको थियो।

यस्तै अर्का प्रतिवादी लक्ष्मण थारूलाई  उच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएकोमा सर्वोच्चले सजाय घटाएर तीन वर्ष बनाइदिएको छ।

संविधान जारी हुनुभन्दा पहिले २०७२ भदौ ७ मा टीकापुर हिंसा भड्किएको थियो। सो हिंसामा एक नाबालकसहित ८ जना प्रहरीको ज्यान गएको थियो।

उक्त हिंसात्मक झडपको नेतृत्व गरेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएका थिए।

फैसलापछि पूर्वसांसद समेत रहेका चौधरी हाल डिल्लीबजार कारागारमा छन्।

कारागारबाटै उनले खोलेको नयाँ पार्टीले गत संसदीय चुनावमा ४ सिट जितेको भने उनकी श्रीमती रञ्जिता श्रेष्ठ वर्तमान सरकारमा भूमि व्यवस्था, सहाकारी तथा गरिबी निवारण मन्त्री छिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट