पासाङ ल्हामु शेर्पाका श्रीमान् पनि सगरमाथाको चुचुरोमा-Sutra News

पासाङ ल्हामु शेर्पाका श्रीमान् पनि सगरमाथाको चुचुरोमा

बुधबार, ३ जेष्ठ २०८०

बुधबार, ३ जेष्ठ २०८०

काठमाडौँ- सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला स्वर्गीय पासाङ ल्हामु शेर्पाका श्रीमान् वरिष्ठ पर्यटन व्यवसायी ल्हाक्पा सोनम शेर्पाले विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोण गरेका छन् । लाक्पा बुधबार बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका हुन्।



पासाङ ल्हामु शेर्पा चढेको ३० वर्षपछि सोनम सगरमाथाको चुचुरोमा पुगेका हुन् । सोनम अप्रिल १७ मा काठमाडौंबाट सगरमाथाको लागि प्रस्थान गरेका थिए । सोनम शेर्पासँगै आरोहणको टोलीमा जाङ्बु शेर्पा, पेमटेंगी शेर्पा, पेम्बा शेर्पा र फ्रान्सका रोबर्ट मोराचिनी पनि रहेका छन् । मंगलबार दिउँसो सगरमाथाको क्याम्प ४ मा पुगेका उनीहरुले हिजो साँझ ८ बजे त्यहाँबाट चुचुरोतर्फ प्रस्थान गरेका थिए ।

सगरमाथाको आरोहणसँगै लाक्पा सोनाम शेर्पाले विश्वका सात महादेशका सबै अग्ला हिमालको सफल आरोहण पूरा गरेका छन् । ६३ वर्षीय शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर १ पाङ्गोममा जन्मेका हुन् ।

५० वर्षदेखि नेपालको पर्यटन व्यवसायमा संलग्न शेर्पाले हजारौं आरोहीलाई नेपालका विभिन्न हिमाल आरोहण गराएका छन् । थमसेर्कु ट्रेकिङका संस्थापक, यती एयरलाइन्सका कार्यकारी अध्यक्षसमेत रहेका उनी होटल तथा जलविद्युतजस्ता व्यवसायमा संलग्न छन् ।

उनले यसअघि अन्टार्कटिकाको माउन्ट भिन्सन, ओशिनियाको माउन्ट पुनकक/माउन्ट कार्सटेन्ज, युरोपको माउन्ट एल्ब्रस, अफ्रिकाको माउन्ट किलिमन्जारो, उत्तर अमेरिकाको डेनाली र दक्षिण अमेरिकाको एकोनवागुआ हिमालको आरोहण गरिसकेका छन् ।

उनले युरोपको सर्वोच्च शिखर माउन्ट ब्लाङ्क, नेपालमा अन्नपूर्ण प्रथम हिमाल, धौलागिरी हिमाल र थमसेर्कु हिमालको आरोहण पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट