नेपाली काँग्रेसकी नेत्री ईश्वरी देवी न्यौपानेले सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैद गर्ने फैसला सदर गरेको भएपनि त्यसमा राजनीतिक फैसला गर्नुपर्ने बताएकी छन्।
आफ्नो फेसबुकमा स्टाटस लेख्दै समानुपातिकबाट प्रतिनिधि सभा सासंद रहेकी नेतृ न्यौपानेले यस्तो बताएकी हुन्।
स्टाटसमा उनले अदालतको फैसलामा नकारात्मक कुरा नगर्ने बताउँदै फैसलाबाट पक्ष र विपक्ष खुशी र दुःखी गरी दुबै कोणबाट समाज तरङ्गित भएको बताउँदै सामाजिक सद्भावका लागि राजनीतिक फैसला गरेर टिकापुर घटनालाई सदाका लागि बन्द गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्।
‘सर्वोच्च अदालतले आज एउटा फैसला त गर्यो। म सम्मानित अदालतको फैसलाको विषयमा नकारात्मक कुरा गर्दिन तर यो फैसलाले पक्ष र विपक्ष,खुसी र दुखी दुवै कोणबाट तरङ्गित छ समाज’ उनले भनेकी छन्, ‘मेरो अनुरोध छ सबैसित,कानुनी फैसला आईसकेको छ,सामाजिक सद्भावको लागि राजनितिक फैसला गरेर यो घटनालाई सदाको लागि बन्द गरौं।’
न्यौपाने चौधरीसँग २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा प्राजित भएकी थिइन्।
सर्वोच्च अदालतले हिजो मंगलबार उच्च अदालत दिपायलले रेशम चौधरीलाई जन्मकैद गर्ने फैसला सदर गरेको थियो ।
‘अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीहरूले दिएको पुनरावेदन जिकिर पुग्न सक्दैन’ फैसलामा भनिएको छ।
मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले सो फैसलालाई सदर गरेका हुन्।
त्यसैगरी सर्वोच्चले प्रतिवादीहरू सीताराम चौधरी र गंगाराम चौधरीलाई सफाइ दिएको छ। उच्च अदालत दीपायलले ज्यान मार्ने उद्योगमा सीताराम र गंगारामलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।
यस्तै अर्का प्रतिवादी लक्ष्मण थारूलाई उच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएकोमा सर्वोच्चले सजाय घटाएर तीन वर्ष बनाइदिएको छ।
संविधान जारी हुनुभन्दा पहिले २०७२ भदौ ७ मा टीकापुर हिंसा भड्किएको थियो। सो हिंसामा एक नाबालकसहित ८ जना प्रहरीको ज्यान गएको थियो।
उक्त हिंसात्मक झडपको नेतृत्व गरेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएका थिए।
फैसलापछि पूर्वसांसद समेत रहेका चौधरी हाल डिल्लीबजार कारागारमा छन्।
कारागारबाटै उनले खोलेको नयाँ पार्टीले गत संसदीय चुनावमा ४ सिट जितेको भने उनकी श्रीमती रञ्जिता श्रेष्ठ वर्तमान सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन्।
सासंद न्यौपानेले लेखेको स्टाटस यस्तो छ-
रेशम मेरो छोराको साथी,मैले छोरा नै भन्छु उसलाई,बहुप्रतिभाको धनी पनि छ,संबिधान जारी गर्ने क्रममा संविधानमा आफ्नो अधिकार सुनिश्चित गर्ने अभियानमा टिकापुरमा अत्यन्तै अप्रिय एवं दर्दनाक घटना घट्यो त्यो पिडाबाट निस्कने प्रयास गर्दैछ टिकापुर। वास्तविक सत्य के हो म भन्न सक्दिन तर त्यहि घटनाको आरोपमा जेल जीवन विताईरहेका छन रेशम लगाएत अन्य व्यक्तीहरु!!
फरार अवस्थामै २०७४ सालको निर्वाचनमा जनताले मत दिएर प्रतिनिधि सभाको सांसद पनि बनाए।
सर्वोच्च अदालतले आज एउटा फैसला त गर्यो म सम्मानित अदालतको फैसलाको बिषयमा नकारात्मक कुरा गर्दिन तर यो फैसलाले पक्ष र विपक्ष,खुसी र दुखी दुवै कोणबाट तरङ्गित छ समाज।
मेरो अनुरोध छ सबैसित,कानुनी फैसला आईसकेको छ,सामाजिक सद्भावको लागि राजनितिक फैसला गरेर यो घटनालाई सदाको लागि बन्द गरौं।