पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी प्रकरणमा आफ्नो भनाइ र गराइमा कुनै दोहोरोपन नभएको बताउँदै सोमाथि निष्पक्ष छानविन गर्न माग गर्दै आफू पूर्ण सहयोग गर्न र परिणाम भोग्न तयार भएको बताएका छन्।
फेसबुक पेजमा एक स्टाटस लेख्दै भट्टराईले यस्तो बताएका हुन्।
भट्टराईले पहिला बुढीगण्डकी बनाउन दिने सवालमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको र सोका बारेमा आफूसँग प्रमाण भएको बताएका थिए।
त्यसपछि २९ असोजमा डा. बाबुराम भट्टराईले बूढीगण्डकी जल विद्युत आयोजनाका बारेमा कुनै विवाद नरहेको बताएका छन् । भट्टराईले आफूले शीर्ष नेताहरुलाई लगाएको आरोप सच्याउँदै त्यसबेला सूचनाहरु अपुष्ट आएको त्यसको आधारमा आफूले बोलेको र अहिले सच्चिएको बताएका थिए।
स्टाटसमा भट्टराईले आफू आफ्नो निजी जीवनमा विचारसँगै नैतिकता र आदर्शलाई हमेशा शीरमा राख्दै आइरहेको र राखिरहने व्यक्ति भएको बताउँदै आफूले भ्रष्टाचारविरूद्ध आजीवन लिएको अडान र संसदभित्र र बाहिर त्यसवारे बोलेका कुरा लुकाएर,बंग्याएर अहिलेका रावण र कंसहरूले गरेका दुष्प्रचारको भ्रममा नपर्न र सत्यत्थ्य बुझ्न सबैसंग पुनः आग्रह छ भनेका छन्।
‘उदाहरणकोनिम्ति,चर्चित बुढीगण्डकी प्रकरणवारे पनि मेरो भनाइ र गराइमा कुनै दोहोरोपन छैन! पहिले रहस्यमय तरिकाले विदेशी कम्पनीलाई दिइएको र पछि विविध कारणले त्यो भत्केर नेपाल आफैले बनाउने निर्णय भएपछि वस्तुस्थितिमा केही फेरबदल भएकै हो। त्यही कुरा मैले बोलेको हुँ। त्यसमा मेरो कसैसंग लिनुदिनु केही छैन।यसवारे निष्पक्ष छानवीन होस्। म पूर्ण सहयोग गर्न र परिणाम भोग्न तयार छु’, बाबुरामले स्टाटसमा लेखेका छन्।
यस्तो छ बाबुरामको स्टाटस-
मैले आफ्नो निजी र राजनीतिक जीवनमा विचार संगसंगै नैतिकता र आदर्शलाई हमेशा शीरमा राख्दै आएको छु र राखिरहनेछु। तर समाजमा सधैं राम्रो र नराम्रो, सत्य र असत्य जस्ता विपरित शक्तिहरूको अस्तित्व रहने र तिनीहरू वीचमा लडाइॅ चलिरहने हुनाले सबैले सत्यलाई बुझ्छन् र मान्छन् भन्ने हुॅदैन। राम र रावण, कृष्ण र कंस वीचको लडाइॅ लामो समयसम्म चलिरहन्छ।
त्यसैले मैले भ्रष्टाचारविरूद्ध आजीवन लिएको अडान र संसदभित्र र बाहिर त्यसवारे बोलेका कुरा लुकाएर,बंग्याएर अहिलेका रावण र कंसहरूले गरेका दुष्प्रचारको भ्रममा नपर्न र सत्यत्थ्य बुझ्न सबैसंग पुनः आग्रह छ!
उदाहरणकोनिम्ति,चर्चित बुढीगण्डकी प्रकरणवारे पनि मेरो भनाइ र गराइमा कुनै दोहोरोपन छैन! पहिले रहस्यमय तरिकाले विदेशी कम्पनीलाई दिइएको र पछि विविध कारणले त्यो भत्केर नेपाल आफैले बनाउने निर्णय भएपछि वस्तुस्थितिमा केही फेरबदल भएकै हो। त्यही कुरा मैले बोलेको हुॅ। त्यसमा मेरो कसैसंग लिनुदिनु केही छैन।यसबारे निष्पक्ष छानवीन होस्। म पूर्ण सहयोग गर्न र परिणाम भोग्न तयार छु।