अभिनेत्री तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले रेशमलाई अदालतले सुनाएको फैसलाप्रति दिएको आक्रोशपूर्ण अभिव्यक्तिप्रति स्पष्टिकरण दिएकी छन्।
सर्वोच्च अदालतले पार्टीका नेता रेशम चौधरीलाई टीकापुर घटनामा सुनाइएको जन्मकैदको फैसलालाई नै सदर गर्ने फैसला गरेपछि प्रतिक्रिया दिदैं गौतमले रेशमलाई रिहा नगरिए आगो बाल्ने चेतावनी दिएकी थिइन्।
उनले बोलेको यही कुरालाई लिएर पछिल्लो समय सामाजिक संजालमा निकै विवाद भइरहेको छ । र यहि विवादलाई लिएर नायिका एलिजाले सामाजिक संजाल फेसबुक मार्फत स्पष्टिकरण दिएकी छन् । उनले आफ्नो सो अभिव्यक्ति आक्रोषको प्रतिक्रिया स्वरुप आएको र आगामी दिनमा सुधार गर्दै लैजाने बताएकी छन्।
यस्तो छ उनको फेसबुक स्टाटस्-
सम्पुर्ण लाई नमस्कार ।
राजनीतिमा सिकारु मान्छे हुँ। म भित्र धेरै कमजोरी छन थाहा छ । त्यो सुधार गर्दैछु । केही कुरा समयले सिकाउँदै गएको छ ।
म आबद्ध पार्टीका नेता रेशम चौधरी यति बेला जेलमा हुनुहुन्छ । पार्टीले केन्द्रिय सदस्य र महिला विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।अदालतको फैसला हाम्रो पक्षमा नआउदा लाखौं कार्यकर्ता निराश छन । पार्टीको इमानदार सिपाही भएको नाताले आक्रोशमा केहि बोल्नु , सरकार लाई खबरदारी गर्नु मेरो कर्तव्य हो ।सोही ठानेर मिडियामा बोले , र खबरदारी गरे । यसमा सुझाव दिने सम्पूर्ण लाई धेरै धेरै धन्यवाद ।
समाजका लागि केही गरौं भन्ने मनको हुटहुटीले राजनीतिमा जोडिएकी हुँ ।आगामी दिनमा केहि सुझाव भए दिदैं गर्नुहोला ।आफू भित्रको कमजोरी लाई सुधार गर्दै जाने छु ।