काठमाडौं । माओवादी केन्द्रका नेता तथा पोलिटब्युरो सदस्य रामकाुमार शर्मा र पूर्वप्रतिनिधिसमा सदस्य ईन्दु शर्माले धर्मनिरपेक्ष वा हिन्दू राष्ट्रबारे जनमत संग्रह गर्न माग गरेका छन् ।
बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई १८ बुँदे ज्ञापनपत्र बुझाउँदै उनीहरुले यस्तो माग गरेका हुन् ।
सो ज्ञापनपत्रमा भनिएको छ, ‘संविधान घोषणा भएको ८ वर्ष पुगिसक्दा पनि संविधानद्वारा प्रदत्त अधिकारहरुको कार्यान्वयनको त कुरै छाडौं, आवश्यक कानुनहरुसमेत बनिसकेको छैन । संघीयतालाई सफलतापूर्वक कार्यान्वयन गर्नमा समेत बाधा अवरोध एवं शंका उपशंका सृजना हुँदै गइरहेको छ भने अर्कोतर्फ संविधानमा आम नागरिकको लागि व्यवस्था भएका राज्यका सबै अङ्ग, तह र निकायहरुको साथै राजनीतिक पार्टीहरुमा समावेशीकरणको विषय हास्यास्पद जस्तो देखिन्छ ।’
राष्ट्रिय विवाद र बहसको रूपमा देखापरेको एक प्रमुख मुद्दा धर्म निरपेक्ष वा हिन्दू राष्ट्रबारे जनमत संग्रहमार्फत निर्णय गरी देशलाई दीर्घकाल शान्तिको दिशामा लग्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।