काठमाडौं । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य तथा कोसी प्रदेशका पूर्वमन्त्री राम रानाको गाडी ढुंगामुढा गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा एमालेले बुधबार एक विज्ञप्ति निकाले घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो । साथै एमालेले घटनाप्रति भर्त्सना समेत गरी हिंसात्मक गतिविधि गर्ने समूहमाथि कानूनी कारबाहीको माग गरेको छ ।
घटनामा संलग्नलाई तुरुन्तै पक्राउ गरी कारबाहीको माग गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टद्वारा विज्ञप्तिमा भनिएको छ ।
कोशी प्रेदशको नामकरणका विषयमा असन्तुष्ट समूहले रानामाथि ढुंगामुढा गरेका थिए । त्यसक्रममा उनी चढेको गाडीको सीसा फुटेको थियो ।
कोशी प्रदेश एमाले संसदीय दलका उपनेता समेत रहेका रानालाई आज इलामको माङ्सेवुङ गाउँपालिकामा आयोजित जिल्लास्तरीय विस्तारित बैठकमा जाँदै गर्दा वडा नं. ३ घर्तीदोभान नजिकै उनको गाडीमाथि ढुंगामुढा भएको थियो ।