काठमाडौँ- नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता रामबहादुर राना मगरमाथि बुधबार उनकै गृहजिल्ला इलाममा आक्रमण प्रयास भएको छ। कोशी प्रदेश नामकरणविरूद्ध संघर्षरत पहिचानवादी आन्दोलनकारीले उनीमाथि आक्रमण प्रयास गरेको एमालेले जनाएको छ।
बुधबार इलामको माङसेबुङ गाउँपालिकाको एउटा कार्यक्रममा सहभागी हुन पुगेका मगरमाथि पहिचानसहित प्रदेशको नामकरण गर्न माग गर्दै आएको समूहले आक्रमणको प्रयास गरेको हो। इलामबाटै निर्वाचित उनी कोशी प्रदेश नाम संसदमा प्रस्ताव गर्ने सांसदसमेत हुन्।
संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले विज्ञप्ती जारी गर्दै केही उच्छृङ्खल र अराजक व्यक्तिहरूले मगरमाथि सांघातिक आक्रमण गर्ने प्रयास गरेको बताएका छन्।
आक्रमणको उक्त प्रयासप्रति एमाले संसदीय दलको कार्यालयले निन्दा र भर्त्सना गर्दै संलग्नलाई कारबाहीको माग गरेको छ। एमालेका केन्द्रीय सदस्यसमेत रहेका मगर एमाले जिल्ला कमिटी इलामको बैठकका लागि जाने क्रममा माङ्सेबुङ गाउँपालिका ३ स्थित पुरानो गाविस भवन क्षेत्रमा आक्रमण भएको प्रहरीले जनाएको छ।
उनलाई ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख दिलिप घिमिरेले बताए।
आक्रमणबाट मगर सवार गाडीको सिसा फुटेको छ।
आक्रमणबाट राना सवार बा २ झ ३७३७ नम्बरको गाडीको अगाडि र पछाडीको सिसा फुटेको प्रहरीले जनाएको छ। आक्रमणपछि मगर जिल्ला कमिटीको बैठकमा सहभागी नभई दमक फर्किएका छन्।