काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका प्रभावशाली नेताहरूको संलग्नता पुष्टि भएपछि सत्तारूढ दल नेपाली कांग्रेस भित्र उत्पन्न विवाद अझै बढ्दै गएको छ । यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वसभासद आङ टावा शेर्पा पक्राउ परिसकेका छन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाणलाई निलम्बन गर्नुपर्ने र गर्न नहुने पक्षमा कांग्रेस नेताहरू विभिक्त भएका छन्।
खाणलाई पदबाट निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने अधिकांश कार्यकर्ताको चाहना भए पनि अहिले नेतृत्वमा र पहिले नेतृत्वमा रहिसकेका बहुसंख्यक नेताहरू खाणप्रती उदारहुँदा खाणको निलम्बन हुने सम्भावना न्युन बन्दै गएको छ ।
खाण सहित पूर्वसभासद शेर्पा पनि प्रहरी अनुसन्धानमा तानिएसँगै अन्य केही प्रभावशाली नेताको नाम जोडिएका अडियो सार्वजनिक भएका छन् भलै यी अडियोका विषयमा प्रहरीले अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सार्वजनिक भएको अडियोमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी एवं कांग्रेस नेतृ आरजु राणा देउवा र पूर्वगृहमन्त्री खाण पत्नी मञ्जु खाणको नाम उल्लेख गरिएको छ । उनिहरू दुबै कांग्रेसका समानुपातिक सांसद पनि हुन् ।
पूर्वगृहमन्त्री खाणमाथि अनुसन्धान जारी रहँदा अडियोमा नाम मुछिएका आरजुसम्म पनि अनुसन्धान हुने भयमा कांग्रेस सभापति देउवा देखिन्छ । उनी यो अनुसन्धान खाणभन्दा माथि नजाओस भन्नेमा सचेत देखिन्छन् । देउवाले यो विषयमा छलफल गर्न पार्टीको बैठक समेत बोलाउन ईच्छुक समेत देखिदैंदन भने अर्कोतिर प्रहरी अनुसन्धान रहेका खाणलाई निलम्बन गर्ने संकेत समेत देखाएका छैनन्, निलम्बनका विषयमा पार्टी पदाधिकारीविचमै विवाद देखिएपछि देउवालाई पनि खाण निलम्बन बारे निर्णय गर्न कांग्रेस असफल बन्यो ।
खाणलाई निलम्बन गर्नुपर्ने पक्षमा पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अनुसन्धानमा सहयोग पुर्याउन र पार्टीको छवि जोगाउने पक्षमा उभिएपनी पार्टी सभापति देउवा सहित उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशरण महत, सहमहामन्त्रीहरु महेन्द्र राय यादव, किशोरसिंह राठौर, उमाकान्त चौधरी, जीवन चौधरी, जीवन परियार, बद्री पाण्डे, भिष्मराज आङ्देम्बे, फरमुल्लाह मन्सुर, डिना उपाध्याय सहितका पदाधिकारीहरू सहित पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, पूर्वकोषाध्यक्ष चित्रलेखालगायतका नेताहरूभने खाण निलम्बन गर्नुनपर्ने पक्षमा राय व्यक्त गरेपछि सहमहामन्त्री यादव र महामन्त्री थापाबिच बैठकमै चर्काचर्की नै परेपछि खाण आफैंले अनुसन्धानका लागि सहयोग पुर्याउन जिम्मेवारीबाट अलग भएको विकल्प सुझाएको भएपनि खाणले उक्त सुझावलाई कार्यान्वयन गर्ने सम्भावना भने निकै न्यून छ ।
कांग्रेस संस्थापन इतर समूहले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका कोही पनि उम्कन नहुने भन्दै आवाज उठाउँदै आएको छ भने खाण निलम्बनलाई बटमलाइन बनाउने संकेत गरेको छ ।
महामन्त्री थापाले यो विषयमा वक्तव्य नै जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् भने इतर समूहले भने यो अभियानलाई देशव्यापी अभियानका रूपमा लैजाने तयारी गरेको छ । महामन्त्री थापाको अभियानलाई उपसभापति गुरुङ सहित अर्का महामन्त्री शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायतका इतर पक्षका नेताहरूको साथ भएपनि देउवासँग सभापतिमा पराजित इतर समूहका नेता डा. शेखर कोइरालाको साथ हुने वा नहुने अन्यौल छ ।
इतर समूहकै अरु नेताहरू मधु आचार्य, गोविन्द पोखरेल, गुरुराज घिमिरे लगायतको अर्को टोलीले पनि पार्टी रूपान्तरणका लागि भन्दै अर्को अभियान थालिसकेका छन् । सभापति देउवापत्नी आरजु र खाणपत्नी मञ्जुले गिरोहबाट पैसा लिएको भनिएको अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेकै बेला पार्टी प्रवक्ता डा. प्रकाशरण महतले पत्रकार सम्मेलन नै गरेर प्रतिरक्षा गरेपछि यो विवाद अझै उग्र बनेको हो ।