काठमाडौं । सेयरबजार तेस्रो दिन पनि दोहारो अंकको वृद्धि भएको छ ।
लगातार घटेर सोमबार ‘इन्ट्रा–डे’ कारोबारमा १ वर्ष अगाडिको विन्दु नजिक झरेर सोही दिने केही माथि उकालो लागेको नेप्से मंगलबार पनि उकालाे लागेको हो ।
२३ जेठ २०७९ को ‘इन्ट्रा–डे’ कारोबारमा १८०६.९५ अंकसमम झरेको नेप्से १ जेठ २०८० को इन्ट्रा–डे’ कारोबारमा १८०७.५३ अंकसम्म झरेको थियो । त्यसपछि सुधारोन्मुख देखिएको नेप्से मंगलबार, बुधबार र बिहीबार लगातार तीन दिन बढेर बन्द भएको छ । बुधबार २३.४० अंकले बढेर १८४५.०१ को बिन्दुमा बन्द भएकोमा बिहीबार पनि उतारचढावबीच नेप्से ३२.३० अंकले वृद्धि भएर १८७७.३२ अंकमा बन्द भएको छ ।
बिहीबार सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो । बिहीबार होटल तथा पर्यटन उपसूचक ३.७५ प्रतिशत र व्यापार उपसूचक ३.७१ प्रतिशतले वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.१० प्रतिशतले बढेको छ ।