काठमाडौं । राष्ट्रिय प्रजातन्त्रका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारमा सबै ठूला दलको मिलेमतो भएको आरोप लगाएका छन् । आज वसन्तपुरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘विगतमा भ्रष्टाचारमा सर्वदलीय सहमति छ भन्दै आएका थियौँ । अहिले आएर त्यो पुष्टि भयो । कच्ची पुल बनाएर खाने । बाटो कच्ची बनाएर खाने । लाइसेन्स दिँदा र ठेक्का पट्टामा खाने मात्र होइन । खाँदा खाँदा आफ्ना नागरिक बेचेर पनि खानेमा पनि यिनीहरुको सहमति देखियो । योभन्दा भ्रष्टाचार के हुन्छ ?’ उनले भने,‘आफ्ना नागरिक बेचेर खाने । यही कारण विश्वमा नेपालको शिर झुकेको छ । प्रधानमन्त्रीको शब्द सापटी लिने हो भने यो नक्कली भुटानी प्रकरण विदेशको पहलमा अघि बढेको छ ।’
यस प्रकरणमा कुनै पनि बाहनामा उन्मुक्ति हुनु नहुने उनको भनाइ छ ।
विगतमा आफूहरुले सबै ठूला नेताहरुको संलग्नता भएकै कारण आयोग गठन र अनुसन्धान गर्ने नाममा फासफुस हुने गरेको उनले बताए । २०४६ सालयताका सबै उच्च पदस्थहरुको सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाइ छ ।
आफ्नो पार्टीलाई राजा र पञ्चबाट पनि भ्रष्टाचार भएको छ भन्ने प्रश्न आउने गरेको भन्दै उनले आफैँबाट छानबिन गर्न चुनौती दिए ।
उनले भने, ‘ म पनि यो देशको उपप्रधानमन्त्री भएको छु । मैले नेतृत्व गरेको मन्त्रालयको बजेट अर्बभन्दा बढी थियो ।’
राप्रपालाई देश विग्रेको हेर्ने छुट नभएको भन्दै उनले आफूहरुले आफ्ना लागि राजनीति नगरेको बताए । नेपालको लगानी इमानदारीपूर्वक लगाएर सस्तोमा बिजुली बेच्न सक्छौँ भन्दै उनले नेपालले माग्ने नभई दिन सक्ने बताए ।