पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि फजुल खर्च कटौती गर्नुपर्ने बताएका छन् ।
बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको उद्घाटन गर्दै पौडेलले यसका लागि सरकारले सबै दल र विज्ञसँग छलफल गरी फजुल खर्च कटौती गर्दै राजश्वले चालु खर्च धान्न सक्ने बजेट निर्माण गर्न सुझाव दिए ।
उनले कानुनको अभावमा सामुदायिक वनभित्र सञ्चालित पार्कले समस्या र द्वन्द्व झेल्नु परेको बताए । सरकारले कानुन बनाएर वैज्ञानिक ढङ्गले दिगो व्यवस्थापनको बाटो खोल्नुपर्नेमा जोड दिए ।
पार्कहरूको विशिष्टीकरण र वर्गीकरण आवश्यक रहेको बताउँदै सरकारले कानुन निर्माणमा बेवास्ता गरे निजी क्षेत्रबाट गैरसरकारी विधेयक दर्ता गरेर पनि कानुन बनाउन सकिने उनको भनाइ छ ।
कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजूलगायतले देशभरका पार्कहरूको सही ढङ्गले व्यवस्थापन गर्ने विषयमा सम्मेलन उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे।