काठमाडौँ- नेपाली क्रिकेट टिमका पूर्व कप्तान एवं स्टार क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज अन्तिम बहस हुँदै छ । गत वैशाख ११ गते मुद्दाको अन्तिम बहस सुरु भएपनि लगातार सुनुवाइ हुन सकेको थिएन ।
गएको फागुन १५ गते नै सर्वोच्च अदालतले पूर्व कप्तान लामिछानेको मुद्दामा काठमाडौँ जिल्ला अदालतलाई फास्ट ट्र्याकबाट निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) को प्रक्रिया अबलम्बन गरि छिटो कारबाही किनारा गर्नु भनी दिएको आदेशको करिब तीन महिना पुग्न लाग्दा समेत यो मुद्दाको किनारा लागेको छैन् ।
जिल्ला अदालत काठमाडौँमा पेशीको म्याद निरन्तर हुँदै आएको भएपनि विविध कारणले यसको सुनुवाइ प्रभावित बन्न पुग्दा सर्वोच्च अदालतको आदेश निष्प्रभावी बन्ने जोखिम बढेको छ भने पीडित भनिएकी किशोरी तथा आरोपित लामिछाने दुबैका लागि थप मानसिक पिडाका रूपमा रहिरहेको छ ।
अर्कोतिर नेपालका महत्त्वपूर्ण खेलहरू हुँदै छन् । नेपालका अब महत्त्वपूर्ण खेलहरू हुँदै छन् । केही दिनमा नै दक्षिण अफ्रिका भ्रमणमा नेपाली टिम निस्किँदै छ। त्यतैबाट नेपाल विश्वकप छनोटका लागि जिम्बावे पुग्ने कार्यतालिका रहेको छ । तर अदालती प्रक्रिया पूरा गर्नुपर्ने हुँदा सन्दीप बीचबीचमा तारिखका लागि अदालत उपस्थित हुनु पर्ने बाध्यात्मक परिस्थिति बन्दा व्यावहारिक रूपमा समेत कठिन बन्दै गएको छ । जसले गर्दा सिंगो क्रिकेट टिमलाई पनि असर पर्नसक्ने सम्भावना विद्यमान छ ।
विश्वकप छनोट भएकाले सन्दीप आफैं पनि मानसिक दबाबमा गुज्रिनुपर्ने अवस्था अन्त गर्नुपर्ने क्यान प्रवक्ता तथा कार्यवाहक सचिव दुर्गाराज पाठक बताउँछन् । ‘अदालती प्रक्रिया चाँडो टुंगिएदेखि टिमले सोही अनुसारकै तयारी गर्थ्यो । सन्दीप पनि अदालती प्रक्रिया लम्बिँदा मानसिक रूपमा नै डिस्टर्ब भइराखेको छन् छ’, उनले भने।
बलात्कार आरोप लागेका लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले प्रारम्भिक सुनुवाइमा पुर्पक्षका लागि जेल चलान गरेको थियो। तर पाटन उच्च अदालतले उनलाई थुनामुक्त गरेको थियो भने विदेश जान रोक लगाएको थियो । सन्दीपले पुनरावेदन गरेपछि उनलाई सर्वोच्चले विदेश जान अनुमति दिएको थियो । मुद्दाको अन्तिम फैसला भने जिल्ला अदालतमा हुन बाँकी छ ।