नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धानको लागि हिरासतमा रहेका १६ जना सहित ३२ जनाविरुद्ध काठमाडौ जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
प्रहरी हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहमन्त्री राम बहादुर थापा बादलका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १६ जना र शरणार्थीका रूपमा अमेरिका जान कागजात बुझाएका केही पीडित सहित ३२ जना विरुद्ध अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको अनुसन्धानमा संलग्न उच्च प्रहरी अधिकारीहरूलाई उधृत गर्दै स्रोतले सुत्र न्युजलाई जानकारी दियो ।
यो सँगै यो प्रकरणको सुरुवातदेखि नै नाम जोडिंदै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा, पूर्व गृहमन्त्री राम बहादुर थापा बादल लगायतका केही उच्च पदस्थहरूलाई ‘चोख्याइएको’ प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
भुटानी शरणार्थीका रूपमा नक्कली कागजात तयार गरी नेपाली नागरिकहरूलाई अमेरिका पठाउने ठगी कार्यमा संलग्न भएकाहरूको विरुद्धमा २ महिना लामो अनुसन्धान पुरा गरी आइतबार प्रतिवेदन बुझाउन लागेको हो ।
आइतबार कार्यालय समयभित्रै अनुसन्धान प्रतिवेदनको फाइल बुझाउने गरी तयारी गरिएको हो ।