प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले ओम्नी काण्डलाई छानबिन गर्न कसले रोक्यो भन्दै सरकारलाई सोधेका छन्।
प्रश्न गर्दै उनले ओम्नीलाई तथाकथित काण्ड भनेका छन्।
आइतबारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै ओलीले सरकारले भ्रष्टाचार, अनियमितता छानबिनमा इच्छा शक्ति नदेखाएको बताएका छन्।
‘एकपल्ट इच्छाशक्ति देखाऊँ, भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछन् भन्ने विश्वास नेपाली जनतामा स्थापित गरौं,’ उनले भने ‘तर, यो सरकारले कहाँसम्म भने, प्रस्तावित नीतिका १८८ बुँदामा सरकारी जग्गा अतिक्रमण गर्नेमाथि छानिबन गर्ने विषय समावेश गर्नसम्म सकेको छैन।’
सरकारले सरकारी जग्गा अतिक्रमणकारी उपरको अनुसन्धान मुद्दा दायर गर्ने कानुनलाई रोक्न चाहेको पनि आरोप ओलीले संसदमा लगाएका छन्।
‘कतै प्रधानमन्त्री प्रचण्डले यसैका लागि गठबन्धन फेरेको त होइन’, ओलीको प्रश्न छ।
‘सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता भनेको छ तर, बालुवाटारको ललिता निवास जग्गा, मातातीर्थको जग्गा, सर्दु जलाधार क्षेत्रको सट्टा भर्ना, धोबी खोला जग्गा काण्ड, तथाकथित ओम्नी खरिद् काण्ड, वाइडबबडी काण्ड, क्यान्टोनमेन्ट प्रकरण लगायतका विषय, जो विवादित छन्, त्यसमा अनुसन्धान र मुद्दा दायर गर्ने काम यथाशीघ्र गरिने छ भनेर भन्न यो सरकारलाई कसले रोक्यो?,’ ओलीले भने।