प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूमाथि पनि छानबिन गर्न भनेका छन्।
आइतबार आइतबारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा ओलीले आफू गृहमन्त्री, परराष्ट्रमन्त्री तथा पटकपटक प्रधानमन्त्री भइसकेकाले आफूमाथि पनि छानविन गर्न चुनौती दिए।
‘म चुनौतीका साथ भन्न चाहन्छु– म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, पटक–पटक प्रधानमन्त्री भएँ छानबिन होस्।छानबिन गरियोस्। म चुनौतीका साथ भन्न चाहन्छु, हामी सधैं भ्रष्टाचारका विरूद्धमा छौं,’ आइतबारको प्रतिनिधि सभा बैठकमा उनले भने।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कतिपयलाई एमालेको नाम लिन रहर लागेको ओलीले बताए।
‘एमालेलाई गाली गर्न मन लागेको छ। केपी ओलीलाई गाली गर्न रहर लागेको छ। रहर गर्नु मात्र पनि त होइन रहेछ जिन्दगी। पार लाग्दैन,’ उनले भने।
‘निर्दोष फसाउन प्रयास भइरहेको छ। म खबरदारी गर्न चाहन्छु, दोषी उम्काउने, निर्दोष फसाउने, यस प्रकारका प्रयास नगर्दा हुन्छ किनभने यो अझ भयावहरूपमा निस्कन्छ । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न, ९७५ जनासँग पैसा उठाइएको छ। चानचुने कुरा हो? त्यसकारण यो भोलि पनि निस्कन्छ। निर्दोष नफसोस्,’ ओलीले संसदमा भने।
ओलीलेर कतिपयलाई तीनवटा प्रमुख पार्टीका नेताहरू भेट्दा सन्देह उत्पन्न भएको पनि बताए।
‘तीन नेता भेट्दा, संसद् बैठक, मन्त्रिपरिषद् पटकपटक बस्दा सन्देह पैदा भयो! के भनेको यो? संसद् बैठक चलाउनु छ, देशको अवस्था यस्तो छ, सदन कसरी चलाउने? सहमतीय बाटोमा कसरी जाने ? आदि कुरामा नेताहरू छलफल गर्दैनन्?कानुन निर्माण, संशोधन कसरी गर्ने छलफल गर्दैनन्?,’ उनले सरकारलाई सोधेका छन्।
त्यसैगरी ओलीले तीन जना शीर्ष नेता भेटघाट हुँदा आफूलाई मात्र तारो बनाइएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे।
‘संसदीय अभ्यासका क्रममा ती जटिल बनावटका प्रक्रियामा स्मुथ्ली कसरी लाने? त्यस विषयमा छलफल गर्दैनन्? तीन जना नेता भेट्दा पनि मानिलिऊँ दुईजना दूधले नुहाएकामात्र होइन, दुधै कुण्डमा नुहाएका, मचाहिँ त्यहाँ लौन मेरा नेता बचाइदेऊ भनेर म्याउँम्याउँ गर्न गएँ,’ उनले भने।
त्यसक्रममा उनले बाघ भोकै मर्ने तर घाँस नखाने भनाइसमेत राखेका छन्।