दैलेखकी २७ वर्षीया गमता (परिवर्तित नाम) १० महिने छोराकी आमा हुन् । पहिलो नानी सानो छँदै उनी गर्भवती भइन् । त्यसैले उनले गर्भपतन गराउने निर्णय लिइन् । गर्भपतनका लागि औषधि पाइन्छ भन्ने सुनेकी गमताले आफूले पनि औषधि सेवन गरेरै गर्भपतन गराउन पाए हुन्थ्यो भन्ने चाहना राखिन् । श्रीमानले गर्भपतनका लागि केही औषधि ल्याइदिए । ती औषधि तोकिएको विधिअनुरूप सेवन गरिन् ।
औषधि सेवन गरेको केही घण्टापछि औषधि पसलेले भनेझैँ रक्तस्राव हुन थाल्यो । गर्भपतन भयो भनेर ढुक्क थिइन् उनी । तर, लामो समयसम्म रक्तस्राव रोकिएन । कमजोरी महसुस भयो, रगत पनि अत्यधिक बग्यो । उनी भित्रभित्रै डराउन थालिन् । चिन्तित हुन थालिन् । श्रीमानलगायत घरका सबै आत्तिए । हतार-हतार उनलाई अस्पताल पुर्याइयो ।
चिकित्सकले प्रारम्भिक परीक्षणपछि उनलाई तुरुन्त रगत दिनुपर्ने तथा गर्भ राम्ररी सफा नभएकाले पाठेघर सफा पनि गर्नुपर्ने सल्लाह दिए । चिकित्सकका अनुसार उनी समयमा अस्पताल नपुगेको भए ज्यानै गुमाउनु पर्ने हुन्थ्यो ।
त्यस्तै सुर्खेतको बराह ताल गाउँपालिका वर्ष १९ पानकली ( परिवर्तित नाम) ले बिहे गरेको पाँच महिनामात्र भएको थियो । बच्चा जन्माउने इच्छा नहुँदा नहुँदै गर्भवती भइन् । गमताले जस्तै उनले पनि गर्भपतन गर्ने निधो गरिन् । तर उनका घरबाट अस्पताल पुग्न दुई घण्टा पैदल हिँड्नुपर्थ्यो । नजिकै भरपर्दो मेडिकल थिएन । दुई घण्टा हिँडेपछि मेडिकल भेटाएका उनीहरू साँझ घर फर्किए। पानकलीले मेडिकलवालाले भनेजस्तै औषधि सेवन गरिन् । औषधि सेवन गरेको केही घण्टामै रक्तस्राव हुन थाल्यो । अत्यधिक रक्तस्राव हुन थालेपछि आत्तिन थालिन् । उनलाई पनि हतार-हतार अस्पताल पुर्याइयो । तुरुन्त रगत दिएपछि बल्लतल्ल ज्यान बच्न सफल भयो ।
यी त केही प्रतिनिधि घटना मात्र हुन् । गर्भपतनका लागि उपलब्ध औषधि सेवन गरेर त्यसका जोखिम झेल्नेहरू दैलेखमा हजारौँ छन् । उनीहरूमध्ये कतिपय गम्भीर संकटमा समेत फसिसकेका छन् । सहज स्वास्थ्यको पहुँच नहुनु, विभिन्न बाध्यता र यससम्बन्धी शिक्षा नभएका कारण कर्णालीका गर्भवतीले यस्तै समस्या भोग्दै आएका छन् । प्रदेश अस्पताल सुर्खेतको तथ्यांकअनुसार २०७८/०७९ मा ३०० जना गर्भवतीले गर्भपतन गर्न बाहिरको औषधि सेवन गरेर प्रदेश अस्पतालमा उपचार गरी फर्केका छन् । यस्तै चालू आवको हालसम्म २४३ जना यसरी प्रदेश अस्पतालमा उपचार गरी फर्केका छन् ।
असुरक्षित गर्भपतनको मुख्य करण शिक्षामा कमी
गर्भपतन रहरले गराउने होइन । यसका पछाडि विभिन्न बाध्यता हुने गरेको चिकित्सक बताउँछन् । गर्भ रहँदा र त्यस गर्भलाई हुर्कन दिँदा निम्तिने सम्भावित जटिलताले गर्दा धेरैले गर्भपतन गराउँछन् । गर्भपतन गराउने केही विधि प्रचलित छन् । ती सुरक्षित विधि हुन् । अहिले औषधि सेवनबाट समेत गर्भपतन गराउन सकिन्छ । तर, यसमा केही सतर्कता अपनाउनुपर्ने चिकित्सक सुझाउँछन्
असुरक्षित गर्भपतनको मुख्य करण शिक्षाको कमी भएको कर्णाली केयर हस्पिटलमा कार्यरत डा. सजिप्ता पन्त बत्ताउँछिन् । ‘गर्भपतन गर्ने चाहना वा बाध्यता धेरैको हुन्छ । तर त्यसमा पनि शिक्षाको कमी हो,’ डा. पन्त भन्छन्, ‘यदि शिक्षाको कमी नभए उसले गर्भ निरोधकका उपाय अपनाउँछ ।’
कसैका बच्चा सानो भएको, कसैका सन्तानको रहर पुगिसकेको त कसैका छोराछोरी हुर्किसकेर ठूला भइसकेका, कसैको अध्ययन पूरा नभएको जस्ता सामाजिक तथा आर्थिक कारणले गर्दा गर्भपतन गराउनुपर्ने अवस्था हुन सक्ने चिकित्सकहरू बताउँछन् ।
नेपालको कानुनले नै १२ हप्ता सम्मको सुरक्षित गर्भपतन गर्न अनुमति दिएको छ । तर अहिले १५ हप्ताभन्दा माथिको पनि औषधि सेवन गरेर गर्भपतन गर्ने गर्छन् । नेपाल सरकारमा सूचीकृत भएका संस्थाबाट गर्भपतनसम्बन्धी निःशुल्क सेवा लिन सकिन्छ । तर कतै सरकारी संस्थाको विश्वास नभएका कारण त कतै ग्रामीण भेगमा निःशुल्क सेवा पाइन्छ भन्ने ज्ञान नभएका कारण मेडिकलमा गएर एउटा ट्याबलेटको ६ सयदेखि २ हजार रुपैयाँसम्म तिरी गर्भपतन गर्ने गरेको कर्णालीका महिला बताउँछन् ।
के छ कानुनी मापदण्ड?
गर्भपतन सेवा लिन कानुनी मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सूचीकृत हुनुपर्छ । यस्तै सूचीकृत भएका वा मान्यता प्राप्त गरेका संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ । सूचीकृत संस्थामा तालिमप्राप्त चिकित्सकबाट गरिएको गर्भपतनबाट हालसम्म एक जनाको पनि मृत्यु भएको छैन । एक प्रतिशतभन्दा पनि कममा मात्र सामान्य समस्या देखिने गरेको तथ्यांकले बताउँछ ।
औषधि पसलेहरू तथा सम्बन्धित स्वास्थ्यकर्मीबाहेकले यस्ता औषधिको बिक्री वितरण गर्न नपाउनेसमेत नियम छ । तर केही औषधि पसले तथा अनधिकृत वा अयोग्य स्वास्थ्यकर्मीले क्षणिक आर्थिक लाभका लागि भारतीय बजारबाट ल्याएका कमसल औषधि बिक्री वितरण गर्ने गरेको डाक्टरहरू बताउँछन् । निःशुल्क रूपमा पाइने औषधिलाई मान्छेअनुसार औषधि पसलेले ठग्ने गरेको डाक्टर पन्तको भनाइ छ ।
औषधिद्वारा गरिने गर्भपतनको सफलताको सबभन्दा महत्त्वपूर्ण पक्ष हो, गर्भको अवधि वा आकारको सही मापन । मेडिकल एबोर्सनका लागि पाठेघरको आकार पत्ता लगाउन भिडियो एक्सरे (अल्ट्रासाउन्ड) गर्नुपर्ने मान्यता छ । अर्को महत्त्वपूर्ण पक्ष गर्भपतन पूर्ण रूपले भयो वा भएन भनेर परीक्षण गर्नु हो । तर मेडिकलमा मान्छेको ज्यान देखेका भरमा औषधि दिइने गरेको डाक्टर पन्त बताउँछन् ।
नेपाल सरकारले सूचीकृत नगरेका ठाउँमा गर्भपतन सेवा लिनु भनेको अवैध र असुरक्षित भएको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार शाह बताउँछन् । ‘कुनै संस्था सूचीकृत पनि छैन तर त्यहाँको म्यानपावरले तालिम पनि लिएका छैनन् भने त्यस्तो ठाउँमा गर्भपतन गर्नु असुरक्षित हुन्छ,’ उनले भने ।
‘धेरै जनालाई निःशुल्क र सुरक्षित गर्भपतनबारे थाहै छैन,’ डा. पन्त भन्छन्, ‘उनीहरूलाई कहाँ जाने के गर्ने भन्ने झन्झटिलो लाग्छ । कतिपयले परिवारले थाहा नपाओस् भनी लुकेर गर्भपतन गर्छन् वा अविवाहितहरूले त्यहाँ गयो भने सबैले थाहा पाउँछन् भनेर पनि गर्भपतन गर्दैनन् । जस कारण लुकीछिपी औषधि पसलमा गएर औषधि लिएर आफूखुसी प्रयोग गर्छन् । यसको फाइदा मेडिकल व्यवसायी उठाएका छन् ।’
डा. पन्तका अनुसार औषधि पसलेलाई औषधि सेवन र यसको डोजबारे जानकारी नै हुँदैन । कति हप्ताको बच्चा छ भनेर पनि थाहा हुँदैन, जसले गर्दा विभिन्न समस्या निम्तिने गर्छन् । औषधिको डोज धेरै भए अत्यधिक रक्तस्राव हुने, पाठेघर नै फुट्ने, पूरै गर्भपतन नहुने, साल अड्केर आउनेजस्ता समस्या देखिन सक्छन् ।
त्यस्तै परिवार नियोजनको बारेमा धेरैलाई जानकारी नहुनुले पनि असुरक्षित गर्भपतनका घटना बढ्दै गएको पन्तको भनाइ छ ।